देशभरका मतदानस्थलमा सुरक्षाकर्मीहरु तैनाथ, निर्वाचन बिथाेल्नेलाई सिँधै अदालत पुर्याइने
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको उनकाे भनाइ छ ।
उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिलसमेत गरे । निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उछृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिए ।
उनकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू तैनाथ छन् ।
उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन् । त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरु मतदानस्थलसम्म पुगेका छन् र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरि देशभरि नै पूर्ण रुपमा अहिले सुरक्षाको प्रत्याभुति दिएको अवस्था छ ।’
गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनै पनि प्रकारको असुरक्षाको महसुस गर्नुन पर्ने स्पष्ट पारे ।
सुरक्षा योजनाको अनुसूचि २ मा मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको भन्दै उनले गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्ने बताए । उनका अनुसार त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन् ।
उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन बिथाेल्न खाेज्नेलाई सिधै अदालत !
निर्वाचनको समयमा कुनै पनि गैरकानुनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ ।
त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सीमित नगरी कडा कानुनी कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे ।
उनले भने, ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानुनी कारबाही गर्छौं । अनुसन्धान गर्छौं, अभियोजन गर्छौं र अदालतमा पनि पेश गर्छौं । उहाँहरू दण्डको भागिदार बन्नुपर्छ, ।’
सुझबुझपूर्ण मतदानको अपिल
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरूभन्दा अझै सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गरे ।
उनले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताए ।
यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरे ।
