`

३ हजार ६८० वटा मतदानस्थल ‘अति संवेदनशील’

Nepal One HD २० फागुन २०८२ १५:३५
निर्वाचन विषेश

काठमाडौं । सरकारले भाेलि हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको दाबी गरेकाे छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिए ।

आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदानस्थल छन् । सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै ३ हजार ६ सय ८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

त्यसैगरी, ४ हजार ४ सय ४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

उनले भने, ‘एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल सरकारले सुरक्षा व्यवस्था मिलाएको जानकारी आयोगलाई प्राप्त छ र हामीले प्राप्त भएको जानकारीअनुसार ३ हजार ६ सय ८० वटा अति संवेदनशील मतदान केन्द्र, ४ हजार ४ सय ४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८ सय ४५ सामान्य मतदान केन्द्र भनेर जम्मा १० हजार ९ सय ६७ मतदान स्थलहरुलाई बाँडफाँड गरेको छ ।’

सचिव राउतले मतदानस्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रबन्ध मिलाउनका लागि मात्र गरिएको स्पष्ट पारे।

मतदान स्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रवन्ध मिलाइएको छ, जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ ।

मतदान स्थलको भित्री घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *