काठमाडौंमा हुने विश्वकप लिग-२ श्रृंखला स्थगित
काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण मार्च १० देखि काठमाडौंमा हुने तय भएका आइसीसी क्रिकेट विश्वकप लिग-२ का खेलहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले मंगलबार श्रृंखला स्थगित भएको जानकारी दिएको छ ।
फेब्रुअरी अन्तिम साताबाट अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि क्षेत्रको हवाई मार्ग ठप्प हुन पुगेको छ । इरानले पनि प्रत्युत्तरमा युएई, बहरिन र कुवेतसम्म आफ्नो जवाफी कारबाही विस्तार गर्यो। अबुधाबी विमानस्थललाई लक्ष्य गरी ड्रोन आक्रमण भएको छ । इराक, जोर्डन, कतार र बहरेनलगायतले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि मात्र सोमबारसम्म ११ हजारभन्दा बढी उडान रद्द भइसकेका छन् ।
यसै कारण मुहम्मद वासिमको नेतृत्वमा रहेको टोलीको युएई मै अड्कियो । मार्च-६ मा काठमाडौंका लागि उड्ने तयारीमा रहेको युएई टोली हवाई क्षेत्र बन्द भएपछि प्रस्थान गर्न असमर्थ भयो । युएईसँगै ओमान टोलीको आगमन पनि अनिश्चित भएपछि श्रृंखला अनिश्चितकालका लागि स्थगित भएको हो ।
आइसिसि क्रिकेट विश्वकप लिग-२ सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटका बाटो हो । नेपाल अहिले आठ टोलीको प्रतियोगितामा १२ अङ्कसहित सातौं स्थानमा छ ।
