इरान युद्धका कारण फिफा विश्वकपको प्ले-अफ खेल स्थगित गर्न माग
बग्दाद । मध्यपूर्वमा दुई सातादेखि जारी युद्धका कारण निकट भविष्यमा हुने फिफा पुरुष विश्वकपको प्ले-अफ खेल स्थगित गर्नुपर्ने माग भएकाे छ ।
यस्ताे माग गर्ने इराकको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्राहम अर्नोल्ड हुन् । उनले युद्धका कारण प्ले-अफ चरणको खेल खेल्ने वातावरण नरहेको बताएका छन् ।
उनका अनुसार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको युद्धले यतिबेला मध्यपूर्व निकै अशान्त बनेको छ ।
इराकले मार्च ३१ तारिखमा विश्वकपको प्ले-अफ खेल्ने कार्यक्रम रहेको छ । मेक्सिकोको मोन्टेरिमा हुने उक्त खेलमा इराकले बोलिभिया र सुरिनामको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गर्नेछ ।
विश्वकपको २३ औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा ४८ टोलीको सहभागिता रहने छ ।
त्यसमध्ये ४२ टोलीको टुङ्गो लागिसकेको छ । बाँकी ६ टोलीको टुङ्गो भने अन्तरमहादेशीय प्ले–अफ खेलबाट लाग्नेछ । ‘यो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छ तर, अहिलेको असहज स्थितिमा प्ले–अफ खेल सारिनु पर्छ,’ प्रमुख प्रशिक्षक अर्नोल्डले भनेका छन् ।
युद्धका कारण हवाई यात्रा जोखिमपूर्ण रहेको तर्क उनले अघि सारेका छन् । ‘अहिले खेलाडी र पदाधिकारीले हवाई यात्रा गर्ने अवस्था छैन । यो कुरा फिफालाई पनि थाहा छ । त्यसैले प्ले–अफ खेल उपयुक्त मितिमा सारियोस् भन्ने हाम्रो माग हो,’ उनले भनेका छन् ।
अर्नोल्ड सन् २०२५ को मेमा इराकको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । इराकलाई विश्वकपको संघारमा पुर्याउन उनको भूमिका निकै महत्त्वपूर्ण छ । इराक सन् १९८६ पछि फिफा विश्वकपमा छनोट हुन सकेको छैन ।
‘हामी ४० वर्षपछि विश्वकप खेल्ने अभियानमा छौं । इराकी फुटबलका लागि यो महत्त्वपूर्ण क्षण हो । हाम्रो टोली उत्कृष्ट पनि छ । तर, अहिलेको वातावरण हाम्रा लागि उपयुक्त छैन,’ प्रमुख प्रशिक्षक अर्नोल्ड भन्छन् ।
