भक्तपुर-१ मा नेमकिपा किल्ला भत्काउने रास्वपाका रुकेश रञ्जित काे हुन् ?
चुनाव नलडी हार मान्थे– कांग्रेस, एमाले भक्तपुर– १ मा । त्यहाँ जित्न कल्पनासम्म गर्दैनथे ती दलहरु । महाभारत नै मानिन्थ्यो त्यहाँ जित्नुलाई ।
त्यो नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को शक्तिशाली किल्ला थियो । तर, यसपटक भत्काइदिए– रुकेश रञ्जितले । नेपालको उत्तर कोरियासमेत भन्ने भक्तपुर–१ मा विजयी झण्डा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेशले फहराएपछि उनी को हुन् ? चासो बढेको छ ।
रुकेश विगतमा एमालेनिकट थिए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा समेत सक्रिय भएर उनले राजनीति गरे । तर, राजनीतिबाट पार नलाग्ने ठानेर विश्राम लिए ।
व्यापारमा हात हाले । इलेक्ट्रोनिक्स पसल खोले । सामाजिक सेवामा जोडिए । रक्तदाताको पहिचान बनाए । कतिसम्म भने भक्तपुरका कुनै अस्पतालमा रगत अभाव भए रुकेशलाई सम्झिन्थे बिरामीका आफन्तहरू । रुकेश जुटाइदिन्थे रगत । बाँच्थे बिरामी ।
मावनीय सहायताको क्षेत्रमा क्रियाशील उनी भक्तपुर–१ को समस्याबारे जानकार पनि थिए । यो क्षेत्रमाभक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छ ।
खासगरी चाँगुुनारायण नगरवासीहरूको एउटै दुःखेसो थियो– हामीलाई नेमकिपाले भोट बैंक बनायो ।
उसो त नेमकिपाबाट पटकपटक निर्वाचित सांसद प्रेम सुवालले सम्पदा क्षेत्रमा विकास नगरेका होइनन्, तर चाँगुनारायण मृत सहरजस्ताे हुँदा थप कदम नचालेकाे, चाँगुनारायणवासीकाे समस्या सुवालले कहिल्यै सदनमा नउठाएकाे, पर्यटन कर उठाएकाे तर जनताले लाभ नलिएकाे जस्ता गुनासाे रुकेशले थाहा पाएका थिए ।
यही असन्तुष्टिलाई रुकेशले चुनाव जित्ने बलियाे आधार ठाने । सामाजिक व्यक्तित्वकाे पहिचान बनाएका उनीप्रति असन्तुष्ट नगरवासीहरुकाे विश्वास जागृत भयाे ।
अन्तत: अप्रत्याशित रुपमा चुनाव जिते । कतिसम्म भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल एकपटक पनि अग्रता लिएनन् ।
विगतमा काङ्ग्रेस, एमाले, माओवादीलगायत दलका उम्मेदवारहरुविरुद्ध सुवाल कम्तीमा ३५ हजार मतान्तरमा जित निकाल्थे । यसपटक सुवाल रास्वपाका रुकेशसँग ५ हजार २८९ मतसहित पराजित भए । निर्वाचन आयाेगका अनुसार रुकेशले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाए ।
यहाँ २०४८२०५१ऽ २०५६ऽ २०६४ र २०७० सम्म लगातार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव जितेका थिए । २०७४ र २०७९ मा प्रेम सुवाल निर्वाचित भएका थिए । तर यसपटक उनले रास्वपाका रुकेशसँग पराजय बेहाेरे ।
सांसद निर्वाचित भएपछि रुकेशले भक्तपुरका लागि केही महत्वाकांक्षी योजनाहरू अघि सारेका छन्।
उनका प्रमुख योजनाहरूमा पाँच वर्षभित्र भक्तपुरमा विश्वविद्यालय स्थापना गर्ने, ७०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने र स्थानीय उद्योग–व्यवसायलाई पुनर्जीवित गर्ने समावेश छन्।
त्यस्तै, हाल औद्योगिक क्षेत्रका रूपमा चिनिएको ठाउँलाई ‘क्राफ्ट भिलेज’ मा रूपान्तरण गर्ने, सल्लाघारी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी वा सम्मेलन केन्द्र निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्।
रुकेशको दृष्टिमा भक्तपुरको पर्यटन अहिले ‘आउने–घुम्ने–फर्किने’ मोडलमा सीमित छ।
उनले पर्यटकलाई कम्तीमा एक रात बस्ने वातावरण बनाउने र घरघरमा होमस्टे सञ्चालन गरेर स्थानीयलाई प्रत्यक्ष आम्दानी हुने व्यवस्था मिलाउने योजना सुनाएका छन्।
तीन दशक लामो राजनीतिक किल्ला भत्काएर संसद् पुगेका रुकेशका लागि अबको मुख्य चुनौती भनेको काममार्फत आफ्नो विजयलाई प्रमाणित गर्नु हो।
यस पटक युवावर्गमा नयाँ राजनीतिक विकल्पको खोजी र परिवर्तनको चाहनाले उनलाई जिताएको विश्लेषण गरिए पनि आगामी चुनावमा परिणाम कामले तय गर्ने उनले स्वीकार गरेका छन्।
भक्तपुर–१ मा नयाँ राजनीतिक अध्याय सुरु गरेका रुकेश रञ्जित अब परिवर्तनको अपेक्षा बोकेका मतदाताको विश्वास कायम राख्न सक्ने कि सक्दैनन्, त्यो आगामी पाँच वर्षको कामले निर्धारण गर्नेछ।
