`

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

Nepal One HD १ चैत २०८२ २१:४६
समाज

इलाम। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ ।

विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्कलन भएको पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलले जानकारी दिनुभयो ।

आज यहाँ जिल्ला प्रशासन कार्यालय इलाम, कोष तथा लेखा नियन्त्रका कार्यालय इलाम, नापतौल विभाग भापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सङ्कलित सामग्री तथा नगदबारे लेखाजोखा गरिएको विकास समितिका अध्यक्ष दिलीपकुमार राईले बताउनुभयो ।

सङ्कलन गरिएको सुन तथा अन्य बहुमूल्य धातु तत्काल खर्च गर्ने वा सुरक्षित राख्ने भन्ने विषयमा आगामी कार्यपालिका बैठकबाट टुङ्गो लाग्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुबास)ले जानकारी दिनुभयो । “धेरै वर्षपछि एकमुष्ट सङ्कलित सामग्रीको लेखाजोखा गरेका छौँ, अब त्यसको प्रयोग कसरी र कुन प्रयोजनमा गर्ने भन्ने विषयमा अर्को बैठक बसेर निर्धारण गर्छौं”, उहाँले भन्नुभयो ।

मन्दिरमा चढाइएको भेटी रकम पनि उल्लेखनीय छ । अध्यक्ष स्याङ्बोका अनुसार विसं २०७९ फागुन १ देखि ०८० असार मसान्तसम्म रु ८५ लाख २८ हजार १८७, विसं ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म रु एक करोड ५६ लाख ६१ हजार ४८८, विसं ०८१ साउन १ देखि ०८२ असार मसान्तसम्म रु ९७ लाख ५४ हजार ६३२ र ०८२ साउन १ देखि फागुन ३० गतेसम्मको रु ८४ लाख २४ हजार ५४७ भेटी रकम सङ्कलन भएको हो ।

मन्दिरबाट सङ्कलित रकम मन्दिर क्षेत्रकै विकासमा खर्च भइरहेको छ । भक्तजनको सहयोग पारदर्शी ढङ्गले सदुपयोग गर्न पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाले पाथीभरा मन्दिरलाई आफ्नै स्वामित्वमा लिएपछि यसको आम्दानी र व्यवस्थापनलाई नियमित रूपमा सार्वजनिक गरिरहेको छ । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर २०७९ फागुन १ गतेदेखि मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले सम्हालेको हो । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम तथा धातु सङ्कलन गर्ने गरिएको हो ।

पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । विशेषगरी शनिबार र मङ्गलबार यहाँ सयौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

मन्दिरमा पुग्नका लागि फेदीबाट करिब एक किलोमिटरको ठाडो उकालोमा सिँढी निर्माण गरिएको छ । यस मार्ग हुँदै भक्तजनहरू सहज रूपमा मन्दिर परिसर पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले पनि यहाँ आउने दर्शनार्थीलाई आकर्षित गरिरहेको बताउनुभयो ।

मन्दिर नजिकै दुईवटा पोखरी छन्, जहाँ हाँसको आकृतिमा देखिने ढुङ्गाहरू राखिएका छन् । यही कारण स्थानीयले यस क्षेत्रलाई ‘हाँस पोखरी’ पनि भन्छन् । विसं २०५१ मा स्थापना गरिएको यो मन्दिर कुटीडाँडाबाट करिब आठ सय मिटरमाथि र समुद्री सतहबाट करिब एक हजार ८४० मिटर उचाइमा अवस्थित छ ।

मन्दिर नजिकै रहेको रमिते टावरबाट तराईका समथर फाँट, इलामका नागबेली चियाबारी तथा भारत, भूटान र बङ्गलादेशसम्मका भू–भागहरू खुला आँखाले देख्न सकिन्छ । साथै यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पनि अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

विशेषगरी दसैँ–तिहार, तीज, बालाचतुर्दशी र रामनवमीजस्ता पर्वका बेला यहाँ ठूलो मेला लाग्ने गर्दछ । सामान्य दिनमा पनि शनिबार र मङ्गलबार विशेष भीड लाग्ने गरेको छ । ती दिनमा मात्रै पाँच सयदेखि दुई हजारसम्म भक्तजन मन्दिरमा पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न जिल्लाका साथै भारत, बङ्गलादेश र भूटानबाट समेत यहाँ भक्तजन आउने गरेका छन् । गाउँपालिकाका अनुसार धार्मिक पर्यटनको सम्भावना बढ्दै गएसँगै मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासमा ध्यान दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *