`

पश्चिम एसियालाई आक्रान्त बनाउन सक्ने ‘स्ट्रेट अफ हर्मुज’

Nepal One HD ७ चैत २०८२ १७:४५
बिशेष

काठमाडौं। पश्चिम एसियाको राजनीतिक, सुरक्षा र ऊर्जा भू-राजनीतिमा सबैभन्दा संवेदनशील केन्द्रबिन्दुका रूपमा चिनिन्छ-‘स्ट्रेट अफ हर्मुज’ । भौगोलिक रूपमा यो जलमार्ग इरान र ओमानको बिचमा अवस्थित छ। तर यसको महत्व केवल भौगोलिक सीमामा सीमित छैन, यो विश्व ऊर्जा सुरक्षाको मेरुदण्ड मानिन्छ।

करीब ३३ किलोमिटरको चौडाइ भएको यो जलडमरुको सबैभन्दा साँघुरो भागमा जहाज सञ्चालनका लागि दुईवटा मात्र करिब ३–३ किलोमिटर चौडा मार्ग उपलब्ध छन्। यही कारण ‘स्ट्रेट अफ हर्मुज’ लाई विश्वको सबैभन्दा संवेदनशील समुद्री ‘चोकप्वाइन्ट’ भनेर सम्बोधन गरिन्छ। यहाँ गरिने सानो अवरोधले पनि विश्व अर्थतन्त्र हलचलमा पर्ने सम्भावना रहन्छ।

वैश्विक ऊर्जा आपूर्तिमा यसको भूमिका झनै निर्णायक छ। विश्वभर उपभोग हुने कच्चा तेलको करीब २० देखि २५ प्रतिशत यही बाटो हुँदै ढुवानी हुन्छ। विशेषगरीसाउदी अरेबिया, इराक, कुवेत र युनाईटेड अरब इमिरेट्स (युएई) जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यही मार्गमा निर्भर छ। कच्चा तेलसँगै प्राकृतिक ग्यास, तरलित पेट्रोलियम ग्यास तथा अन्य सामाग्री पनि यही मार्गबाट विश्व बजारमा पुग्छन्।

उता, यसको रणनीतिक महत्वका कारण यो क्षेत्र सधैंजसो तनावग्रस्त रहँदै आएको छ। वर्षौँदेखि इरान र अमेरिकाबीचको राजनीतिक र सैन्य द्वन्द्व  ‘स्ट्रेट अफ हर्मुज’ कै वरीपरी घुमिरहन्छ। इरानले विगतमा बारम्बार चेतावनी दिएको छ कि उसविरुद्ध सैन्य आक्रमण भएमा यो जलडमरु बन्द गरिदिनेछ। यस्तो कदमले विश्व ऊर्जा आपूर्ति तत्काल अवरुद्ध पार्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिन सक्ने जोखिम रहन्छ।

सुरक्षाका दृष्टिले पनि यो मार्ग अत्यन्त कडाइका साथ निगरानीमा राखिन्छ। अमेरिकी नौसैनिक शक्तिको प्रमुख घटक युएस नेभीले यहाँ स्थायी गस्ती चलाइरहेको हुन्छ। उता इरानले पनि आफ्नो नौसैनिक क्षमता विस्तार गर्दै समुद्री उपस्थिति बलियो बनाइरहेको छ। यसै कारण कुनै सानो विवादले पनि ठूलो क्षेत्रमा सैन्य द्वन्द्वको रूपमा विस्तार हुन सक्ने सम्भावना निरन्तर रहन्छ।

‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुनु केवल मध्यपूर्वका लागि मात्र संकट होइन, विश्व अर्थतन्त्रका लागि गम्भीर प्रहार हुने संकेत हो। तेल आपूर्ति रोकिने, पेट्रोलियम उत्पादनको मूल्य ह्वात्तै बढ्ने, अन्तर्राष्ट्रिय व्यापारमा अवरोध उत्पन्न हुने, र विश्व ऊर्जा सुरक्षा जोखिममा पर्नेछ। नेपालजस्ता आयातमा निर्भर मुलुकमा समेत यसको प्रत्यक्ष असर पर्न सक्नेछ। विशेषगरी इन्धन मूल्यवृद्धि, ढुवानी लागत बढ्नु र उत्पादन क्षेत्र प्रभावित हुनुजस्ता असर तत्कालै देखिन थाल्छन्।

तेल, भू-राजनीति र सैन्य उपस्थिति जहाँ एकै ठाउँमा भेटिन्छन्, त्यहाँ तनाव अवश्यै बढ्छ। ‘स्ट्रेट अफ हर्मुज’ पनि यस्तै एक क्षेत्र हो, जहाँ शक्ति-प्रतिस्पर्धा, कूटनीति र रणनीतिक सुरक्षा एकैसाथ जटिल रूपमा मिसिएका छन्। यही कारण यो जलडमरु केवल एक समुद्री मार्ग होइन, विश्व शक्तिसन्तुलनलाई प्रभावित गर्ने केन्द्रबिन्दु बनेको छ।

पछिल्लो समय बढीरहेको इजरायल, अमेरिका र इरान तनावले  ‘स्ट्रेट अफ हर्मुज’ निकै चर्चामा छ।  इरानले बारम्बार  ‘स्ट्रेट अफ हर्मुज’ मा आक्रमण गर्ने चेतावनी दिइरहेको छ भने अमेरिका-इजरायलले पनि इरानले त्यसो गरे निकै ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन्। 

इरानले ‘स्ट्रेट अफ हर्मुज’ ध्वस्त पार्ने वा बन्द गर्ने चेतावनी दिँदै आएको मुख्य कारण यसको भू-रणनीतिक महत्वसँग गुथिन्छ। अमेरिकासँगको दीर्घकालीन तनाव, विशेषगरी सैन्य आक्रमण, प्रतिबन्ध र इजरायलसँगको द्वन्द्वले इरानलाई बारम्बार कठोर प्रतिक्रिया दिने मनोवृत्ति तर्फ धकेल्छ। पछिल्ला महिनामा इरानका वैज्ञानिक, सैन्य अधिकारी तथा प्रभावशाली नेताहरूलाई हवाई आक्रमणमा मारिनु पनि इरानको कठोर चेतावनीको पृष्ठभूमि बनेको छ। कुनै पनि आक्रमणको प्रतिकारस्वरूप हर्मुज जलडमरु बन्द गर्न सकिने संदेश इरानले 

रणनीतिक डिटर्रेन्स पनि इरानको चेतावनीको अर्को महत्त्वपूर्ण पक्ष हो। इरान यो धम्कीलाई तत्काल प्रयोग हुने उपाय होइन, बरु एक मनोवैज्ञानिक दबाबका रूपमा प्रस्तुत गरिरहेको छ । जसले गर्दा अमेरिका वा इजरायलले इरानमाथि प्रत्यक्ष सैन्य आक्रमण गर्नुअघि धेरैपटक सोच्नुपर्छ। बढ्दै गएको यो त्रिपक्षीय तनावका बीच इरानको आईआरजिसी नेभीले समुद्री क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउदै लागेको छ , जसका कारण यस्तो चेतावनीले प्रभावकारी दबाब सिर्जना गर्छ।

यससँगै अमेरिकाले लगाउँदै आएका कडा आर्थिक प्रतिबन्धहरूले इरानलाई झनै कठोर अभिव्यक्तितर्फ उन्मुख बनाएको छ। बैंकिङ प्रणालीदेखि तेल निर्यातसम्मका रोक्का कदमहरूले इरानको अर्थतन्त्र कमजोर बनाएको छ, र त्यो प्रतिरोधको रूपमा हर्मुज जस्तो संवेदनशील कार्ड प्रयोग इरानका लागि यो युद्धमा ठुलो हतियार बन्न सक्छ। 

आन्तरिक रूपमा पनि यस्तो बयानबाजीले इरानी नेतृत्वलाई फाइदा पुर्‍याउँछ। कट्टरपन्थीहरू आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छन्, राष्ट्रियतावादी भावनालाई बलियो बनाउँछन् र बाह्य दबाबका बीच सरकार कमजोर छैन भन्ने सन्देश जनतामा फैलाउन चाहन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *