`

प्रधानमन्त्री कपमा पुलिसले बनायो ३५५ रनको कीर्तिमान

Nepal One HD १० चैत २०८२ १७:३४
खेलकुद

काठमाडौं । चार ब्याटरले अर्धशतक बनाएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार जित निकाल्दा बागमती प्रदेशले पनि पहिलो सफलता आत्मसात गरेको छ ।

मुलपानीमा मंगलबार भएको खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफ क्लबमाथि एक सय ८५ रन र बागमतीले गण्डकी प्रदेशलाई एक सय ७० रनले हराएका हुन् ।

समान दुई खेलबाट बामती र पुलिसले पहिलो जित आत्मसात गरे ।ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसाद अली गरी चार ब्याटरले अर्धशतक पूरा गरेपछि पुलिस प्रधानमन्त्री कपमा अहिलेसम्मको सर्वाधिक ३५५ रनकाे ठूलो योगफल बनाउन सफल भयो, त्यो पनि बलियो एपिएफविरुद्ध ।

यसअघि एपिएफले सन् २०१८ को प्रधानमन्त्री कपमा मधेस प्रदेशविरुद्ध तीन सय ३९ रनको योगफल बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा पुलिसले कीर्तिमान तीन सय ५६ रनको लक्ष्य दियो । दबाबमा परेको एपिएफ ४४ औं ओभरमा एक सय ७० रनमा नै अलआउट हुन पुग्यो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफ २२.१ ओभरमा ७१/७ को कमजोर अवस्थामा थियो । पुछारका ब्याटर नन्दन यादवले नटआउट ४४ रन र कमलसिंह ऐरीले ३५ रन बनाए । यससँगै एपिएफले १५० रनको आँकडा पार गरेको हो । नन्दनले ५५ बलमा समान तीन चौका र छक्का प्रहार गरे ।

कमलले ३२ बलमा दुई चौका र तीन हिर्काए । नवौं विकेटका लागि कमल र नन्दनबीच ४९ रनको साझेदारी भयो । कप्तान रोहित ११, ओपनर आसिफ शेख १८, सन्दीप जोरा २४ र पुरन विक २० रनमा आउट भए । पुलिसको बलिङमा स्पिनर ललित राजवंशीले तीन तथा करण केसी, रासिद खान र दिनेशले समान दुई विकेट लिँदै एपिएफको इनिङ धरासयी बनाए । सागर ढकालको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५५ रनको कीर्तिमान योगफल बनाएको थियो । पहिलो ओभरमै अनुभवी ब्याटर कुशल भुर्तेललाई ४ रनमा गुमाएपछि पुलिसको सुरुआत सुखद भएन ।

सुरुमै विकेट पतन भए पनि पुलिसले आक्रामक ब्याटिङ गर्‍याे । ओपनर दिनेशले ५२  बलमा ६० रन बनाए । उनको इनिङमा ६ चौका र चार छक्का रह्यो । उनी म्यान अफ दी म्याच पनि भए । उनले दुई विकेटसँगै तीन वटा क्याच पनि लिएका थिए ।

शंकरले ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर पाँच चौका र चार छक्का प्रहार गरे । कप्तान आरिफ ४२ बलमा ५० र रासिद खानले ४२ बलमा ४४ रन बनाए ।

विकेटकिपर दिलशाद ३० बलमा ५१ रनमा अविजित रहे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । एपिएफको बलिङमा कमलसिंह र अमरसिंह राउटेलाले समान दुई तथा कप्तान रोहित, नन्दन र युवराज खत्रीले समान एक विकेट लिए पनि महँगा सावित भए । पहिलो खेलमा त्रिभूवन आर्मी क्लवसँग पराजित भएको पुलिसले दुई खेलबाट दुई अंक जोड्दा

एपिएफको पनि दुई खेलबाट दुई अंक भएको छ । एपिएफले पहिलो खेलमा वागमतीलाई हराएको थियो ।

इशानको अलराउण्डमा बागमती विजयी

तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दुई सय ९५ रनको विशाल लक्ष्य दियो । जबाफी ब्याटिङ गरेको गण्डकी ३१.५ ओभरमा एक सय २४ रनमै अलआउट भयो ।

खराब सुरुआत गरेको गण्डकीका ओपनर अर्जुन कुमालले ७० रन र सातौं नम्बरका ब्याटर सुवास भण्डारीले २९ रन बनाए । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् र गण्डकी सस्तैमा अलआउट भयो । गण्डकीका ६ जना ब्याटर खाता नै खोल्न असफल भए । ३६ रन जोड्दा गण्डकीका पाँच ब्याटर पभेलियन फर्किसकेका थिए ।

छैटौं विकेटका लागि अर्जुन र सुवासले ७१ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे । २५औं ओभरमा सुवास रनआउट हुन पुगे । सुवास खत्रीले उनलाई रनआउट गरेका हुन् । सुवासले ४८ बलमा समान एक चौका र छक्का प्रहार गरे ।

लगातार विकेट पतन भए पनि अर्जुनले एक छेउबाट इनिङ समाले । ३२औं ओभरमा बागमतीका कप्तान सन्दीप लामिछानले अर्जुनलाई बोल्ड गरेपछि गण्डकीको दशौं विकेट पतन भएको हो । अर्जुनले ९० बलमा ११ चौका हिर्काए ।

बागमतीको बलिङमा रिजन ढकालले तीन तथा सन्दीप र इशान पाण्डेले समान दुई विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका इशान म्यान अफ दी म्याच भए । दयानन्द मण्डल र सुवास खत्रीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९४ रनको योगफल बनायो । शीर्ष चार ब्याटरको साथ पाएपछि बागमतीले राम्रो योगफल बनाएको हो ।

ओपनर आशुतोष घिरैया र इशान पाण्डेले अर्धशतकीय योगदान दिए । इशानले ७१ रन र आशुतोषले ५९ रन बनाए । अर्का ओपनर शुभ कंसकार २८ बलमा ४४ रन जोडे । ६१ बल खेलेका इशानको इनिङमा चार चौका र दुई छक्का रह्यो ।

आशुतोषले ८७ बलमा ९ चौका प्रहा गरे । शिभम् तिवारी १८ रनमा, उत्तम थापामगर ३० र विवेक रानामगर २७ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।

गण्डकीको  बलिङमा कमल परियारले दुई तथा विपिन खत्री, अंकित न्यौपाने, सिबरिन श्रेष्ठ र सुवास भण्डारीले समान एक विकेट लिए । दुई खेलबाट वागमतीको दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिता  शुरु गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *