`

ओलीकाे मुटुकाे चाल बढ्याे, अस्पतालमै राखियाे

Nepal One HD १४ चैत २०८२ १६:००
नेकपा एमाले

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका मुटुकाे चाल बढेकाे चिकित्सकहरुले बताएका छन् ।

अहिले उनकाे त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । ओली शनिबार बिहानै भक्तपुरकाे गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।

लगत्तै स्वास्थ्य परीक्षणका लागि उनलाई टिचिङ अस्पताल लगिएकाे थियाे । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो ।

ओली अहिले ‘एनेक्स वान’को ५०१ बेडमा उपचाररत छन् । थप स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न शारीरिक परीक्षण भइरहेका छन् ।

ओलीले मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन् । ‘बिहान अस्पताल आउँदा उहाँको मुटुको चाल बढेको थियो,’ ती चिकित्सकले भने, ‘पेट पनि दुखेको भन्नु भएको थियो ।’

एक्सरे गर्दा भने पेटमा ढुंगा रहेको पाइएको ती चिकित्सकले बताए । उक्त ढुंगाका कारण पेट दुखेको हुनसक्ने ती चिकित्सकले बताउँछन् । अहिले पेट रोग विशेषज्ञ हेरिरहेका छन् ।

मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ । मिर्गौलासम्बन्धी जाँच पनि भइरहेको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीले नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन् ।

साथै मुटु एन्जियोप्लाष्टिक गरेका कारण सम्बन्धी औषधि, एन्टिबायोटिक र थाइरोइडको औषधि पनि चलिरहेको ती चिकित्सकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *