वीरगञ्ज नाकाबाट २ हजार एलपी ग्यास भित्रीए
पर्सा। पर्साको वीरगञ्ज नाका हुँदै पछिल्लो करिब डेढ महिनामा २ हजार १३६ वटा एलपी ग्यास बुलेट नेपाल भित्रिएका छन्। पश्चिम एसियाली देशहरूमा देखिएको संकटका कारण नेपालसहित विभिन्न मुलुकमा एलपी ग्यासको आपूर्तिमा दबाब देखिएको अवस्थामा आयात बढेको हो।
भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० वटा ग्यास बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका छन्। एकीकृत भन्सार जाँचचौकी व्यवस्थापन गर्दै आएको टीआरएस हिमायन लजी पार्कका अपरेसन हेड गणेश घिमिरेले फागुनदेखि चैत १३ गतेसम्म २ हजार १३६ वटा बुलेट भित्रिएको जानकारी दिए।
उनका अनुसार माघ महिनामा १ हजार ४०३ वटा बुलेट आयात भएको थियो भने चैत १३ सम्म थप ५७६ वटा बुलेट भित्रिइसकेका छन्।
वीरगञ्ज भन्सार कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा यस नाकाबाट २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २४ अर्ब ६ करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलो ग्यास आयात भएको थियो।
