लेखक पक्राउ परेपछि कांग्रेसभित्र विवाद,समानान्तर गतिविधि सुरु:अनौपचारिक बैठक बस्ने तयारी
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएका छन्। लेखकको पक्राउपछि कांग्रेसभित्रैबाट फरक–फरक धारका विज्ञप्ति सार्वजनिक भएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकलाई प्रहरीले शनिबार(हिजो) बिहान प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अत्यन्त जरुरी पक्राउ पुर्जीका आधारमा भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको हो ।
लेखक पक्राउ परेपछि पार्टी संस्थापन पक्षका प्रवक्ता देवराज चालिसेले एक विज्ञप्ति जारी गरेका छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको तर्फबाट नेता पूर्णबहादुर खड्काले अर्को विज्ञप्ति निकालेका छन्।
खड्काले जारी गरेको विज्ञप्तिमा आफूलाई कार्यवाहक सभापति उल्लेख गर्नुका साथै पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरिएको छ। जबकि खड्का हाल उक्त पदमा नरहेका कारण यसले पार्टीभित्र विवाद थपिएको छ।
यस विषयमा संस्थापन पक्षले कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार(आज) दिउँसो पदाधिकारीहरूको अनौपचारिक बैठक बस्ने तयारी गरिएको छ।
