कार्की आयोगप्रति आपत्ति जनाउँदै एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बुझायो विरोधपत्र
काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले आइतबार उक्त विरोधपत्र बुझाएको हो।
पार्टीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति तथा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ। एमालेले उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय नयाँ आयोग गठन गर्न माग पनि अघि सारेको छ।
साथै, देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा समेत यस्तै विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
यसैबीच,ओली पक्राउपछिको विकसित अवस्थाबारे संसदमा रहेका विभिन्न दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको संयोजन गर्ने जिम्मेवारी पार्टीले विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलगायतका नेताहरूलाई दिएको छ।
