एमालेको विरोधपत्रमा काठमाडौंका सीडीओको जवाफ: ‘हामी न्युट्रालिटी र प्रोफेसनलिज्मअनुसार मात्र काम गर्छौं’
काठमाडौं।अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा विरोधपत्र बुझाउन गएका नेकपा एमालेका नेता-कार्यकर्तालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रशासन राजनीतिक विषयमा प्रवेश नगर्ने जवाफ दिएका छन्।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले आइतबार उक्त विरोधपत्र बुझाएकोमा प्रजिअ पौडेलले यस्तो जवाफ दिएका हुन् ।
प्रजिअ पौडेलले प्रशासनको भूमिकाबारे स्पष्ट पार्दै भने, ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटी र प्रोफेसनलिज्मअनुसार नै अगाडि बढ्छौं।’
उनले प्रदर्शनका क्रममा केही हिंसात्मक गतिविधि भएको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही अघि बढाइने बताएका छन्। ‘कानुनको सीमाभित्र रहेर सबैलाई कारबाही हुन्छ,’ उनले भने।
प्रजिअ पौडेलले सुरक्षाकर्मीलाई संयमित रूपमा काम गर्न निर्देशन दिइएको जानकारी दिँदै आन्दोलनरत नेता-कार्यकर्तालाई पनि संयमित हुन आग्रह समेत गरेका छन्।
शनिबार ओली पक्राउ परेपछि एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा माइतीघर-बिजुलीबजार क्षेत्रमा तोडफोड र आगजनीका घटना पनि भएका थिए।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ । सोही क्रममा नेता रामेश्वर फुयालसहितको टोली आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
