राइड सेयरिङ कम्पनीले श्रम शोषण गरेको भन्दै,माइतीघरमा उत्रिए राइडर
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा तोकेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ। लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि आफ्ना समस्या बेवास्ता भएपछि उनीहरू बाध्य भएर सडकमा उत्रिनुपरेको बताएका छन्।
पेट्रोलको मूल्य वृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले माइतीघरमा मोटरसाइकलसहित भेला भएर सहरका विभिन्न ठाउँमा र्याली समेत गरेका छन्। यस क्रममा बीमा सुचारु रूपमा लागू गर्नुपर्ने, कम्पनीले लिने कमिसन घटाउनुपर्ने लगायतका माग समेत उनीहरूले अघि सारेका छन्।
समूहले आफ्नो माग पूरा नभए राइड सेयरिङ सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ। राइडरहरूको धैर्यतालाई कमजोरी नलिन चेतावनी दिँदै उनीहरूले यो आन्दोलनलाई देशव्यापी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
