`

जब १६ वर्षमै जन्माइन् बच्चा

Nepal One HD १६ चैत २०८२ १९:४०
बिशेष

पाल्पा। तिनाउ गाउँपालिका-३ स्थित तिलोत्तमा माध्यमिक विद्यालय को छात्राबासमा बस्दै आएकी कक्षा ११ की एक छात्राले होस्टेलमै शिशुलाई जन्म दिएकी छन्।

बिहीबार जन्मिएको शिशु छोरी रहेको जनाइएको छ। ती छात्रा तिनाउ गाउँपालिका-५ निवासी रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवाली का अनुसार घटना बाहिरिएपछि आमा र नवजात शिशुलाई परिवारको जिम्मा लगाइएको छ। “उनी कक्षा ११ मा अध्ययनरत थिइन्। यसअघि कक्षा १० मा पढ्दा नै एक युवासँग सम्बन्ध रहेको रहेछ, तर यसबारे विद्यालयलाई जानकारी थिएन,” उनले भने।

उनका अनुसार १६ वर्षीया छात्राले केही महिनाअघि सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा समेत सहभागिता जनाएकी थिइन्। “यस्तो घटना हुन्छ भन्ने हामीले कल्पना गरेका थिएनौं,” ज्ञवालीले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा ले छात्रा र उनका प्रेमी एउटै गाउँका भएको र दुवै पक्षबीच सहमति भइसकेको जानकारी दिए। उनले भने- ‘उनीहरूबीच प्रेम सम्बन्ध रहेछ, बच्चा जन्मिएपछि मात्र घटना थाहा भयो। परिवारलाई जानकारी गराएर सोही राति जिम्मा लगाइएको हो।’

तिनाउ गाउँपालिका-५ की वडाध्यक्ष इन्द्रकुमारी चिदी का अनुसार छात्रा मोटीमोटी भएकाले गर्भावस्थाबारे शिक्षक तथा सहपाठीहरूलाई थाहा हुन सकेको थिएन।

हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

(तस्बिर एआइको सहायतामा जेनेरेट गरिएको हो)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *