कांग्रेस फेरि दुईतिर
काठमाडाैं। उसो त नेपाली कांग्रेसको घरझगडा चुनावको बेला मात्रै देखिँदैन। अरु बेलाको कांग्रेसभित्रको झगडा हेर्ने हो भने पार्टी आज फुट्छ, भोलि फुट्छ जस्तो देखिन्छ। सायद नामै काङ्ग्रेस भएर हुन सक्छ। तर कांग्रेस पनि नफुटेको इतिहास भने छैन। २०१० सालमा कोइराला दाजुभाई मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको आन्तरिक खिचातानीले कांग्रेस पहिलोपटक फुटेको थियो। त्यसपछि २०५९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले कांग्रेसलाई विभाजनको बाटोमा डोर्याएका थिए।
गत फागुनमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनताकाको विवाद अहिले फेरि सतहमा आएको छ। गएको विशेष महाधिवेशनमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएन। महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन पनि अघोषित रूपमा बहिष्कार नै गर्यो।
तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा चुनावको मुखैमा सिंगापुर हानिए। उपचारका लागि गएका देउवा अहिलेसम्म पनि स्वदेश फर्किने कुनै सुरसार छैन। यतिसम्म कि आफूले सात पटक चुनाव जितेको गृहजिल्ला डडेल्धुरामा उनले यसपटकको निर्वाचनमा पाइला समेत टेकेनन्। उनको मुखबाट उनकै गृहजिल्ला डडेल्धुरामा उम्मेदवार बनेका नैनसिंह महरका लागि एक शब्द पनि निस्केन, जसको परिणामस्वरूप २०४८ पछि डडेल्धुरामा पहिलोपटक पराजय भयो।
हुन त कांग्रेस यो चुनावमा देशैभर पराजित भयो। संसदीय अंकगणितमा दोस्रो भएको कांग्रेसले आफ्नो स्थापनाको इतिहासमा सबैभन्दा ठूलो हार बेहोरेको छ भन्दा खासै फरक पर्दैन। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक कांग्रेसका ३८ जना सांसद छन्।
निर्वाचनमा भएको पराजयपछि कांग्रेस सभापति गगन थापाले राजीनामा दिए। तर, राजीनामा दिएको एक हप्ता नपुग्दै थापाको राजीनामा केन्द्रीय समितिबाट नै अस्वीकृत भयो। यसपछि कांग्रेसको लडाइँ फेरि सुरु भएको छ।
तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक गत शनिबार भक्तपुरको कतुञ्जेबाट पक्राउ परे। उनी पक्राउ परेपछि कांग्रेसले त्यसको प्रतिवाद गर्ने निर्णय गर्नेछ भन्ने आशा देउवा पक्षले गरेको हुनुपर्छ। तर, थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले त्यसमा कुनै किसिमको प्रतिवाद नगर्ने निर्णय गर्यो। त्यसको केही समयपछि नै कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन गृहमन्त्री लेखकको गिरफ्तारी गैरकानुनी रहेको भन्दै विज्ञप्ति निकाले।
देउवा पक्षले निकालेको उक्त विज्ञप्तिकै आधारमा ओली र लेखकको रिहाइका लागि कञ्चनपुर, सुर्खेत लगायतका जिल्लामा नेपाली कांग्रेसले प्रदर्शन पनि गर्यो। त्यसपछि गगन नेतृत्वको कांग्रेसले पार्टीको विधानविपरीत चल्नेलाई कारबाही गर्ने भन्दै अनुशासन समितिको बैठक नै बोलायो। तर, त्यसलाई पनि अवज्ञा गर्दै देउवा पक्षीय कांग्रेसले सांसदसँग छुट्टै छलफल तथा बधाई दिने कार्यक्रम गर्यो। जुन कार्यक्रमलाई नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले यस्ता कार्यक्रम कांग्रेसमा निरन्तर भइरहन्छन् भन्ने प्रतिक्रिया दिए, जसले नेपाली कांग्रेस वृत्तमा तरंग उत्पन्न गरेको छ।
आज देउवा पक्षीय कांग्रेसले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ।
पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू आजको बैठकमा सहभागी भएका छन्। भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्। पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औँ महाधिवेशनको मितिबारे छलफल गर्ने लगायतका एजेन्डा तय गरेको छ। यता गगन नेतृत्वको कांग्रेसले असोज अन्तिममा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
आजको बैठकलाई नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन्। उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन्। शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ-आफ्नो ठाउँमा बसिदिन आग्रह गरेर बैठक अघि बढाए।
आजको देउवा पक्षीय बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ जना र दुई प्रदेश सभापति सहभागी छन्।
