`

इरान युद्दको खर्चको भरपाई अरब मुलुकलाई तिराउने ट्रम्पको तयारी

Nepal One HD १७ चैत २०८२ १८:१५
प्रमुख खबर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्धको सम्भावित युद्ध खर्च अरब मुलुकहरूबाट उठाउने इच्छा राखेको खुलेको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिट ले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्प यस विषयमा चासो राखिरहेको बताएकी छन्।

पत्रकारहरूले अरब राष्ट्रहरूले पनि अमेरिकाको इरानविरुद्धको युद्ध खर्च व्यहोर्नुपर्ने हो कि भनेर सोध्दा लेभिटले राष्ट्रपतिले ती देशहरूसँग यसबारे छलफल गर्न सक्ने बताइन्। कतारी मिडिया अल जजीरा ले उनको भनाइ उद्धृत गरेको छ।

यसअघि सन् १९९० मा इराकविरुद्धको युद्धमा अमेरिकाले विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो। त्यसबेला जर्मनी, जापान र अरब मुलुकहरूले करिब ५४ अर्ब डलर अमेरिकी सैन्य खर्चका लागि उपलब्ध गराएका थिए।

तर अहिलेको अवस्था फरक रहेको विश्लेषण गरिएको छ। यसपटक अमेरिकाले अन्य देशहरूसँग व्यापक परामर्श नगरी इसराइल सँग मिलेर इरान मा आक्रमण गरेको बताइएको छ।न्युयोर्क टाइम्सका अनुसार युद्धको पहिलो सातामै करिब साढे ११ अर्ब डलर खर्च भएको अनुमान गरिएको थियो।

युद्ध लम्बिँदै जाँदा महँगा हतियारहरूको प्रयोग पनि बढेको छ। एजीएम-१५४ ग्लाइड बमजस्ता हतियारको मूल्य प्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने रोयटर्सले जनाएको छ।

बढ्दो खर्चका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानविरुद्धको युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको थियो। युद्ध सुरु भएको केही सातामै यस्तो प्रस्ताव ह्वाइट हाउसमा पठाइएको बताइएको छ। यद्यपि कुल खर्च कति पुगेको छ भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

यसबीच ट्रम्पनिकट टिप्पणीकार सेन ह्यान्नीटीले युद्धविराम सम्झौतामा इरानलाई नै युद्ध खर्च तिर्न बाध्य पार्ने प्रावधान राख्नुपर्ने सुझाव दिएका छन्। उनले इरानले तेलमार्फत सम्पूर्ण सैन्य खर्च अमेरिकालाई फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

तर इरान ले भने उल्टै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने अडान लिएको छ। कूटनीतिक वार्ताका क्रममा आफूहरूमाथि आक्रमण भएको भन्दै इरानले क्षतिपूर्तिको माग गर्दै आएको छ।

यद्यपि ट्रम्पले इरानमा थप हमला गर्नका लागि लक्ष्यहरू सीमित भइसकेको दाबी गरेका छन्। तर इसराइल ले भने निरन्तर मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ। जवाफमा इरानले पनि इसराइल र मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ।

यसैबीच अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। सामान्यतया करिब ४० हजार अमेरिकी सेना तैनाथ हुने क्षेत्रमा पछिल्ला साताहरूमा थप सेना पठाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यदि इरान युद्धविराममा सहमत नभए स्थल आक्रमणको विकल्पसमेत अघि सार्नुपर्ने दबाब ट्रम्पमाथि बढ्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *