`

अमेरिका-इरान युद्धको लाभ पुटिनले उठाएको जेलेन्स्कीको दाबी

Nepal One HD १८ चैत २०८२ १०:५५
प्रवास

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-इरान युद्धका कारण रूसलाई लाभ भइरहेको दाबी गरेका छन्। साथै युद्ध लम्बिए रूसका लागि धेरै राम्रो र युक्रेनका लागि धेरै नराम्रो हुने दाबी गरेका हुन् ।

जेलेन्स्कीले अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै तेलमा निर्भर रूसी अर्थतन्त्रले बढ्दो तेलको मूल्य र रूसमाथि लगाएको अमेरिकी प्रतिबन्धहरूमा आएको खुकुलोपनबाट ठूलो राहत पाइरहेको बताएका छन्।

जेलेन्स्की ले रूस युद्ध लम्ब्याउन इच्छुक रहेको बताएका छन्, किनकि त्यसबाट उसलाई फाइदा पुगिरहेको छ। उनका अनुसार अमेरिकाको ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भएकाले युक्रेनप्रति सैन्य सहयोग घट्न सक्ने जोखिम छ। साथै, रूसमाथिका केही प्रतिबन्धहरू खुकुलो बन्दै गएको उल्लेख गर्दै, इरानसँगको जारी युद्धले रूसलाई थप लाभ दिलाइरहेको उनले निष्कर्ष निकाले।

त्यस्तै,मध्यपूर्वमा जारी युद्धका कारण रूसी मिसाइलबाट युक्रेनलाई निकै आवश्यक पर्ने ‘एयर डिफेन्स इन्टरसेप्टर’ र हतियारहरूको अभाव हुन सक्ने समेत जनाएका छन्।

इरानमा भइरहेको युद्धले युक्रेनतर्फ जाने हतियार आपूर्तिमा असर पार्ने सम्भावनाबारे सोधिँदा,जेलेन्स्कीले आफू केवल चिन्तित मात्र नभई यस्ता चुनौतीहरू अवश्य सामना गर्नुपर्नेमा पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्। उनले रूसले इरानलाई अमेरिकाबारे खुफिया सूचना दिइरहेको कुरा समेत बताए।

युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव नै गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग दुई हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रूसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका छन्।

तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको थियो।

अमेरिकाले सो प्रस्ताव अस्वीकार गरे पनि त्यसले युरोपेली देशहरूमा चिन्ता जगाएको छ। पुटिनले अमेरिका र युरोपेली देशहरूबीच फाटो ल्याउन कोशिस गरिरहेको भनेर उनीहरू चिन्तित भएका छन्। इरानले अमेरिकाइसराइल सँग भइरहेको युद्धमा रूस बाट सैन्य सहयोग पाइरहेको स्वीकार गरेको छ।

अमेरिकीसँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागची ले युद्धका बेला रूसलाई इरानको महत्वपूर्ण रणनीतिक साझेदारका रूपमा चित्रण गरेका छन्।

यसैबीच, इरानले अमेरिकी सैन्य गतिविधि र संरचनासम्बन्धी सटिक जानकारीका आधारमा आक्रमण गरिरहेको देखिएको रिपोर्टहरू आएका छन्। कतिपय विश्लेषकहरूले रूसले इरानलाई यस्ता खुफिया सूचनाहरू उपलब्ध गराइरहेको हुन सक्ने बताएका छन्।

त्यसैगरी, डोनाल्ड ट्रम्प ले पनि केही समयअघि रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने सार्वजनिक रूपमा संकेत गरेका थिए। उनले अमेरिकाले युक्रेनलाई सहयोग गरेझैँ भ्लादिमिर पुटिन ले पनि इरानलाई सीमित स्तरमा सहयोग गरिरहेको हुन सक्ने अनुमान व्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *