एकजना बालकको मृत्यु, १० जना घाइते
दमौली। तनहुँका विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।
देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो। नारायणघाटबाट सिङ्तानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर भित्री सडक खण्डमा अनियन्त्रित भई करिब १५ मिटर तल खसेको थियो। दुर्घटनामा देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोही दुर्घटनामा ट्याक्टर चालक ३० वर्षीय विष्णु माझी घाइते भएका छन्।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ पालिङ, कमलबारीमा मंगलबार साँझ माइक्रो बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। काठमाडौंबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७२०८ नम्बरको हाईस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा बागलुङकी ३६ वर्षीया अन्जु क्षेत्री, रुपन्देहीका २८ वर्षीय रिकेश भण्डारी, व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा र उनका २ वर्षीय छोरा अर्पन थापा घाइते भएका छन्। त्यस्तै, व्यास–९ झिमुवाका ३५ वर्षीया अमृता कार्की, ११ वर्षीय निश्चल कार्की, ११ वर्षीय कुशल कार्की, स्याङ्जाका २५ वर्षीय सह–चालक उदिप गुरुङ र धादिङकी ३५ वर्षीया चमेली सिटौला पाण्डे पनि घाइते भएका छन्।
घाइतेमध्ये ६ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने अर्पन थापा, अमृता कार्की र चमेली सिटौला पाण्डेलाई थप उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
