ओली-लेखक पक्राउ:म्याद थपको तयारी,ओलीको भर्चुअल बयान लिने
काठमाडौं। जेन-जी आन्दोलन सम्बन्धी जाँचबुझ प्रतिवेदनका सिफारिसअनुसार पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको हिरासत अवधि थप गर्न तयारी भइरहेको छ। अनुसन्धानको लागि आवश्यक थप म्यादका लागि प्रहरीले माग गरेको हो।
जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा भौतिक रूपमा उपस्थित गराइनेछ भने ओलीको उपस्थितिका लागि स्वास्थ्य अवस्थाको आधारमा भौतिक वा भर्चुअल माध्यम प्रयोग गरिनेछ।
ओलीको स्वास्थ्य जाँचका लागि प्रहरी टोली अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको छ। भट्टराईले भने,’यदि उहाँलाई ल्याउन नमिल्ने रहेछ भने सरकारी वकिललाई जानकारी गराइनेछ र त्यहाँबाट भर्चुअल माध्यमबाट प्रक्रिया अगाडि बढाउन सकिन्छ।’
शनिबार पक्राउ परेका ओली र लेखकलाई प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो। तर, जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले भने ५ दिनको म्याद मात्रै स्वीकृत गरेका थिए। अनुसन्धानको लागि आवश्यक थप म्यादका लागि प्रहरीले पुनः सिफारिस पेश गरेको छ।
प्रवक्ता भट्टराईका अनुसार, नयाँ म्यादभित्र एमाले अध्यक्ष ओलीको बयान लिइनेछ। उनले भने ,’यदि आज उहाँ उपस्थित हुनुभयो भने आजै, नत्र अर्को अनुकूल दिनमा प्रक्रिया सम्पन्न गर्न सकिन्छ।’
