`

कम्बोडियाबाट तीन नेपालीको उद्धार

Nepal One HD २० चैत २०८२ १३:४९
प्रवास

काठमाडौं। प्रलोभनमा परी कम्बोडिया पुगेका तीन नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फर्काइएको छ। नेपाली राजदूतावास बैंककका अनुसार कम्बोडिया सरकारले सहयोग गर्दै दूतावासको पहलमा उनीहरूलाई उद्धार गरिएको हो।

ती व्यक्तिहरूलाई कम्बोडियामा अवैधरूपमा सञ्चालन हुने अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो।  गैरआवासीय नेपाली संघको सहजीकरणमा ती नेपालीहरू चैत १९ गते कम्बोडियाबाट नेपाल पठाइएका थिए र शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

दूतावासले अलपत्र तथा कठिन परिस्थितिमा परेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने प्रयास जारी रहेको जनाएको छ। कम्बोडियामा रहेका नेपाली नागरिकलाई अनलाइन ठगी, गैरकानुनी काममा लगाइएका वा भिसा अवधि नाघेर बसिरहेको अवस्थाबारे जानकारी प्राप्त भएको छ। यस अवस्थामा रहेका नेपालीहरूले शीघ्र नेपाली राजदूतावास बैंकक वा कम्बोडियासँग सम्पर्क गर्नुपर्ने दूतावासले आग्रह गरेको छ।

उद्धार भएका व्यक्तिहरूले स्क्यामिङ केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरण क्रममा हराउने गरेको गुनासो गरेका छन् कि। यस्तो अवस्थामा नेपाल फर्किन दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ।

कम्बोडियाको पर्यटन तथ्यांकअनुसार नेपाली नागरिकको आवागमन पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१, २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ नेपाली कम्बोडियामा पुगेका थिए।

नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ।

नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत  सन्देश प्रवाह गरी सहयोग गर्न अनुरोध समेत गरेको छ।

प्रेस विज्ञप्ति:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *