अब तीन नयाँ विधुतिय गाडी नेपाली बजारमा
काठमाडौं। नेपाली अटो बजारमा मध्यम मूल्यका विद्युतीय गाडी (ईभी) सेग्मेन्ट झनै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। ३५ देखि ५० लाख रुपैयाँ मूल्य दायरालाई लक्षित गर्दै तीन नयाँ एसयूभी मोडल नेपाली बजारमा प्रवेश गर्न लागेका छन्।
पछिल्ला वर्षहरूमा यही मूल्य समूहका ईभीप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। यही बढ्दो मागलाई ध्यानमा राख्दै टाटा, आरफक्स र दीपल ब्राण्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।
नेपाली बजारमा पहिलोपटक भित्रिन लागेको आरफक्स ब्राण्डलाई लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ल्याउँदैछ। आरफक्सले टी-०१ ह्याचब्याक मोडलमार्फत आफ्नो उपस्थिति सुरु गर्नेछ, जसले किफायती सेग्मेन्टमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाली सडकमा लोकप्रिय बनेको टाटा पञ्च ईभीको लङ रेन्ज संस्करण पनि चाँडै सार्वजनिक हुने भएको छ। सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने यो मोडल फेसलिफ्ट डिजाइनसहित आउनेछ र यसमा बढी रेन्ज तथा अद्यावधिक फिचरहरू रहने अनुमान गरिएको छ।
त्यस्तै, दीपलले आफ्नो इन्ट्री-लेभल एसयूभीका रूपमा एस-०३ मोडल नेपाल ल्याउन लागेको छ। थाइल्याण्डमा उत्पादन हुने यो गाडी एमएडब्लू वृद्धिले नेपाली बजारमा उपलब्ध गराउनेछ।
यी नयाँ मोडलहरूको आगमनसँगै मध्यम मूल्यका ईभी गाडीबीच प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ। साथै, उपभोक्ताले एउटै मूल्य दायराभित्र थप विकल्प पाउने भएका छन्।
