`

उत्तर कोरियामा ड्रोन खसालेपछि आक्रमण गर्ने किमको चेतावनी

Nepal One HD २३ चैत २०८२ १६:५०
विश्व

एजेन्सी। आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली आकाश प्रवेश गरेको घटनामा दक्षिण कोरियाका राष्ट्रपतिले खेद प्रकट गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो मुलुकबाट उडेको ड्रोन उत्तर कोरिया प्रवेश गरेको विषयमा खेद प्रकट गरेका हुन् ।

उनले यस घटनालाई दुर्भाग्य भन्दै आफ्नो सरकारका तर्फबाट नभइ कुनै व्यक्तिले उक्त ड्रोन उडाएको हुनसक्ने उल्लेख गरे । उनले आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

केही गैरजिम्मेवार र लापरवाही व्यक्तिको गतिविधिका कारण उत्तरसँग अनावश्यक सैन्य तनाव बढेको उनले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए । उनले आफ्नो मुलुकका अधिकारीले यसबारे छानबिन गर्दा राष्ट्रिय अनुसन्धान सेवाका कर्मचारी र एक जना सैन्य अधिकारी यस घटनामा संलग्न रहेको पाइएको बताए ।

उनले दक्षिण कोरियाली संविधानले उत्तरविरुद्ध उत्तेजना निम्त्याउन कसैलाई पनि छुट नदिएको स्पष्ट पारेका छन् । उत्तर कोरियाले गत जनवरी महिनामा दक्षिणबाट उडेका ड्रोन आफ्नो आकाश प्रवेश गरेको भन्दै कडा आक्रोश व्यक्त गरेको थियो ।

उत्तरले गम्भीर उत्तेजना निम्त्याउन दक्षिण कोरियाले आफ्नो आकाशमा ड्रोन उडाएको आरोप लगाएको थियो । उत्तरले उक्त ड्रोन आकाशमै नष्ट पारेको थियो ।

उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा पुनः यस्ता ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। प्योङयाङले जनवरीको सुरुमै निगरानी उपकरण बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिर सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको बताइएको छ।

राष्ट्रपति लीले केही व्यक्तिका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद व्यक्त गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय सुरक्षासम्बन्धी कदमहरू जिम्मेवार ढंगले चालिनुपर्ने र संविधानअनुसार निजी व्यक्तिले उत्तर कोरियालाई उक्साउने कार्य गर्न नपाउने पनि उल्लेख गरे।

गत वर्ष पदभार सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *