विनोद भण्डारीको शतकसँगै आर्मीले निकाल्यो सहज जीत
काठमाडौं। कप्तान विनोद भण्डारी को कीर्तिमानी शतकको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लब ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप मजबुत बनाएको छ।
बुधबार जनकपुरस्थित रामजानकी बहुउदेश्यीय रंगशाला मा भएको खेलमा सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो।
आर्मीको जितमा कप्तान विनोदले ७५ बलमा १२ चौका र ५ छक्काको मद्दतमा शानदार १०० रन बनाए। यो प्रधानमन्त्री कपमा उनको चौथो शतक हो। यससँगै उनी प्रतियोगितामा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्।
आसिफ शेख (एपिएफ) ले ३ शतकसहित उनलाई पछ्याइरहेका छन्। त्यस्तै, कुशल मल्ल ले अविजित २६ रन र भीम सार्की ले १६ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि कप्तान शेर मल्ल ले २ विकेट लिए भने मिलन बोहरा ले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनाएको थियो।
