पोखरामा सिर्जनाको बिभत्स हत्या प्रकरण : भाञ्जा पक्राउ
काठमाडौं। पोखरामा चैत २५ गते साँझ बीच बजारमै एक महिला माथि खुकुरी प्रहार भयो। शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी पोखरा-५ की सिर्जना पौडेल केसीलाई अज्ञात समूहले कन्चटमा माथि खुकुरी प्रहार गरी हत्या गरेको हो। आक्रमणपछि उनी सडकमै ढलेकी थिइन् र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो।
सिर्जना एकल महिला थिइन् र पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी थिइन्। उनको व्यक्तिगत जीवनमा पहिले पनि ठूलो दुःख रहेको देखिन्छ। पहिलो श्रीमतीको आत्महत्यापछि व्यवसायी कृष्ण केसीले करिब चार वर्षअघि सिर्जनासँग विवाह गरेका थिए। तर दुई वर्षअघि कृष्ण केसीको पनि मृत्यु भएको थियो।
श्रीमानको मृत्युपछि सुरु भएको सम्पत्ति र अंशसम्बन्धी विवादले परिवारभित्र तनाव बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरी अनुसन्धानअनुसार घटनामा सिर्जनाका आफ्नै भाञ्जा संलग्न रहेको पाइएको छ। उनलाई पक्राउ गरिसकिएको छ भने घटनामा प्रयोग भएको मोटरसाइकल चालकको खोजी भइरहेको छ।
पक्राउ परेका भाञ्जा यसअघि लागुऔषध, अभद्र व्यवहार र चोरीजस्ता मुद्दामा समेत संलग्न रहेको प्रहरी विवरणमा उल्लेख छ।
प्रारम्भिक बयानअनुसार पारिवारिक अपमान र व्यक्तिगत रिसका कारण हत्या गरिएको स्वीकार गरिएको भए पनि घटनामा अन्य परिवारका सदस्यको समेत संलग्नता हुन सक्ने आशंका प्रहरीले राखेको छ।
प्रहरीका अनुसार आरोपीहरूले दिउँसैदेखि सिर्जनाको गतिविधि निगरानी गरेका थिए। उनी पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक–सभागृह चोक सडक खण्डमा आक्रमण गरिएको थियो।
बत्ती कम भएको र भीड कम भएको मौका छोपी आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले परिवारका केही सदस्यलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको छ। पारिवारिक कलह, सम्पत्ति विवाद र अंश मुद्दालाई अनुसन्धानको मुख्य आधार बनाइएको छ।
सिर्जनाको विवाद मुख्य रूपमा सौतेनी परिवार र सम्पत्ति भागबन्डासँग सम्बन्धित रहेको देखिन्छ।
कृष्ण केसीको जेठी श्रीमतीबाट जन्मिएका छोराछोरीसँग उनको सम्बन्ध विवादित थियो। सम्पत्ति र अंशसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा थियो।
प्रहरी स्रोतका अनुसार, परिवारभित्र लामो समयदेखि चलिरहेको विवादले अन्ततः हिंसात्मक रूप लिएको हुनसक्ने देखिन्छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर विस्तृत अनुसन्धान जारी राखेको छ। अझै पनि योजनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घटनाबारे विस्तृत जानकारी दिन प्रहरी प्रशासनले पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
