`

एपीएफद्वारा कोशी ५ रनले पराजित

Nepal One HD २७ चैत २०८२ १६:५६
खेलकुद

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ५ रनले पराजित गरेको छ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा शुक्रबार भएको खेलमा २२६ रनको लक्ष्य पछ्याएको कोशी ४९.५ ओभरमा २२० रनमै अलआउट भयो। जारी प्रतियोगितामा कोशीको यो तेस्रो हार हो।

कोशीका लागि अंकित सुवेदी र सुमन श्रेष्ठले अर्धशतकीय पारी खेले। अंकितले ६७ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाए भने सुमनले १३२ बलमा ५ चौका प्रहार गर्दै ६५ रन जोडे। तर, यी पारी जितका लागि पर्याप्त हुन सकेनन्। रोहन शाहले ३२ र आशिष मगरले १७ रन बनाए।

एपीएफका लागि अभिषेक गौतमले ४ विकेट लिए। कप्तान रोहितकुमार पौडेलले २ तथा भुवन कार्की र अमर रौटेलले १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफ ४७.५ ओभरमा २२५ रनमा अलआउट भएको थियो।

एपीएफका लागि सन्दीप जोरा र सुमित महर्जनले अर्धशतकीय पारी खेले। सन्दीपले ९४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाए भने सुमितले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे।

कोशीका लागि सुजन थपलियाले ३ विकेट लिए। विपिन महतो र दिपेश कंडेलले २–२ तथा रोहन शाहले १ विकेट लिए।

टस जितेर कोशीले पहिले फिल्डिङ रोजेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *