‘विराट गोल्डकप’ शुरु, झापा र आर्मी भिड्दै
काठमाडौं। ऐतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औँ संस्करण शनिबारदेखि विराटनगरमा शुरु हुँदै छ।
विराटनगरस्थित सहिद रङ्गशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रस्टले जनाएको छ।
झापा र आर्मी ११ वर्षपछि सोही मैदानमा पुनः आमनेसामने हुन लागेका हुन्। यसअघि २०७१ सालको फाइनलमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो।
वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि सहभागी गराइएको छ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोलीसँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता रहने छ।
वैशाख ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भइसकेको ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। करिब १ करोड ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको यस गोल्डकपले विराटनगरमा फुटबलको माहोल पुनः तताउने अपेक्षा गरिएको छ।
