एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँः माधवकुमार नेपाल
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् । नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।
नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे । पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रिय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताए ।
नेपालको राजनीतिमा कम्युनिष्टहरूले २००७ सालदेखि नै महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै उनले कम्युनिष्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला संगठनलाई निर्देशन दिए ।
