नेपाल रेल्वे कम्पनी निरन्तर घाटामा,आम्दानीभन्दा खर्च तेब्बर बढी
महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेड लगातार आर्थिक घाटामा रहेको देखिएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँदै सेवा दीर्घकालीन रूपमा संकटतर्फ उन्मुख भएको संकेत देखिएको हो।
कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ। यस अवधिमा कुल ४८ करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको उल्लेख गरिएको छ।
पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। हाल मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ भए पनि खर्च १ करोड २९ लाख रुपैयाँसम्म पुग्ने गरेको छ।
आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिएर सञ्चालन गर्नुपरेको छ। २०८१ असार मसान्तसम्म सावाँ र ब्याजसहित कुल ऋण ७९ करोड रुपैयाँ नाघिसकेको छ, जसले कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ।
यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ। भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको सेवा दैनिक तीन पटक चल्छ। स्थानीय बासिन्दाका अनुसार रेलले यात्रा समय घटाएर दैनिक जीवन सहज बनाएको छ।
तर आर्थिक घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक जनशक्तिमा हुने उच्च खर्च मुख्य रहेको छ। हाल १७ जना भारतीय कर्मचारीका लागि मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गरिँदा नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपैयाँ रहेको छ।
यसका साथै स्थायी प्राविधिक जनशक्ति अभाव, वर्कसपको कमी, स्वदेशी चालक र स्टेशन मास्टरको अभाव, फ्युलिङ स्टेशन नहुनु तथा इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको कम्पनीले जनाएको छ। लामो समयदेखि महाप्रबन्धक नहुनुले पनि व्यवस्थापन कमजोर बनेको छ।
वि.सं. १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो भने २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको हो। हाल सेवा ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ।
कम्पनीले आम्दानी बढाउन विभिन्न विकल्प अघि सारेको छ। रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड आम्दानी हुने अनुमान गरिएको छ। साथै पुरानो न्यारो गेज इन्जिनहरू राखेर रेल सङ्ग्रहालय स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि बढाइएको छ।
स्थानीय व्यवसायीहरूले यात्रुसँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यात्रु सेवा मात्रबाट नाफा सम्भव छैन।
पूर्व महाप्रबन्धक निरञ्जन झा ले कम्पनीलाई नाफामुखी बनाउन कार्गो रेल सेवा चाँडो सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार यसबारे विगतमा छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन।
भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा मालसामान ढुवानी गर्न कार्गो सेवा आवश्यक रहेको व्यवसायीहरूको धारणा छ। जनकपुरका व्यवसायी निर्मल चौधरीले यस्तो सेवा सञ्चालन भए ढुवानी सहज र सस्तो हुने बताएका छन्।
समयमै व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति विकास, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने देखिन्छ। अन्यथा, बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा अझै संकटमा पर्ने जोखिम बढ्दै गएको छ।
