ओलीले शिलान्यास गरेको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा (तस्वीरहरु)
काठमाडौं। धादिङ जोड्ने नेपालको पहिलो आधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यो परियोजना बहुआयामिक महत्त्वको मानिन्छ।
यस सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। तर, भूगर्भीय समस्या, डिजाइन परिवर्तनलगायत कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
यस परियोजनाको निर्माण जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो संयुक्त उपक्रमले गरेको हो। सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक तथा भौगोलिक चुनौतीका कारण समय लम्बिँदै २०८२ सालमा निर्माण कार्य सम्पन्न भएको छ। हाल धादिङतर्फ पहिरो नियन्त्रण र टोल गेट निर्माणको काम भइरहेको छ।
सुरुङमार्ग सञ्चालनको जिम्मा भने चिनियाँ कम्पनी संलग्न युक्सिन-एआरटी संयुक्त रुपमा पाएको छ। सडक विभागअन्तर्गतको परियोजना कार्यालयले पाँच वर्षका लागि करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा सञ्चालन ठेक्का दिएको हो।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको शुल्क पनि सार्वजनिक गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क दर निर्धारण गरिएको हो।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनिबस तथा मिनी ट्रकका लागि प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।
बस र सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरिएको छ भने मल्टि एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ लाग्नेछ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ-धादिङ सडक खण्डको यात्रा समय घट्ने र यातायात व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।












