`

एपोलो हाइड्रोपावरकाे आईपीओमा ४१.९५ गुणा बढी आवेदन

Nepal One HD २ वैशाख २०८३ १७:३१
अर्थ समाचार

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडकाे आईपीओमा ४१.९५ गुणा बढी आवेदन परेको छ । चैत २६ गतेदेखि निष्काशन भएकाे उक्त  आईपीओमा आवेदन दिने अन्तिम दिन वैशाख २ गते बुधबार साँझ ५ बजेसम्म ४१.९५ गुणा बढीले आवेदन दिएकाे सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

सीडीएससीका अनुसार कम्पनीले सर्वसाधारणका लागि  ७ लाख ८० हजार २०० कित्ता शेयर निष्काशन गरेको थियाे । जहाँ  २८ लाख ७५ हजार ३७२ जनाले ३ कराेड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आईपीओ ७८ हजार २० जनाले १० कित्ताका दरले पाउँने छन् । बाँकी आवेदककाे हात खाली हुनेछ । 

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको कम्पनीले जनाएको छ।

बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल रकम ७ करोड ८० लाख २० हजार रुपैयाँ हुन्छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँटपछि भइसकेकाे छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *