अमेरिका-इरान वार्ता : इरानको ४४० किलो युरेनियममा मिलेन कुरो
एजेन्सी। अमेरिका र इरान बीच जारी वार्तामा महत्वपूर्ण प्रगति हुने संकेत देखिएको छ। यस प्रक्रियामा पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ।
अलजजिराको रिपोर्टअनुसार पाकिस्तानी स्रोतहरूले इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौतामा ‘ठूलो ब्रेकथ्रु’ भएको दाबी गरेका छन्। वार्तालाई सहज बनाउन पाकिस्तानले दुवै पक्षबीच सन्देश आदानप्रदान र समन्वयमा सक्रिय भूमिका खेलेको जनाइएको छ।
वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रम रहेको छ। अमेरिका इरानको आणविक गतिविधिमा नियन्त्रण चाहन्छ भने इरानले आफूविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएको छ।
पाकिस्तानी स्रोतहरूका अनुसार दुवै पक्ष केही महत्वपूर्ण बुँदामा नजिक पुगेका छन्, जसले छिट्टै सहमति हुनसक्ने संकेत दिएको छ। यद्यपि, आधिकारिक रूपमा अन्तिम सम्झौता भएको पुष्टि भने भइसकेको छैन।
पाकिस्तानी सेनापति आसिम मुनिरको नेतृत्वमा प्रतिनिधिमण्डल तेहरान पुगेको छ। त्यहाँ इरानी विदेशमन्त्री अब्बास अरागची सँग भेटघाट भएको बताइएको छ। इरानको प्रेस टिभीका अनुसार पाकिस्तानी टोलीले अमेरिकी सन्देश इरानी नेतृत्वसम्म पुर्याउने र दोस्रो चरणको वार्ताका लागि आधार तयार पार्ने प्रयास गरिरहेको छ।
वार्तामा सबैभन्दा जटिल विषय इरानले युरेनियम संवर्द्धन कति समयसम्म रोक्ने भन्ने हो, जसमा दुवै पक्षबीच सहमति बन्न अझै कठिनाइ देखिएको छ। त्यस्तै, इरानसँग रहेको करिब ४४० किलोग्राम युरेनियमको व्यवस्थापन पनि विवादकै केन्द्रमा छ। उक्त युरेनियमलाई अन्य देशमा पठाउने, पुनः कम स्तरमा झार्ने वा सीमित प्रतिशतमा राख्ने विषयमा छलफल भइरहेको छ।
