सभापति भए पनि रविलाई बालेनले टेर्दैनन्
काठमाडौं। झण्डै दुई तिहाइ बहुमतसहित अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ। रास्वपा सत्तामा पुगेपछि सभापति रवि लामिछाने सबैभन्दा प्रभावशाली नेताका रूपमा उदाएका थिए। तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि भने पार्टीभित्रै उनको प्रभाव घट्दै गएको संकेत देखिन थालेका छन्।
निर्वाचनअघिको सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने। तर, सरकार सञ्चालनमा उनले पार्टीसँग पर्याप्त समन्वय नगरेको प्रश्न उठ्न थालेको छ। यसका कारण सभापति लामिछानेले गरेका केही निर्णय कार्यान्वयन हुन नसकेको मात्र होइन, संसदमा समेत उनलाई धोका दिएको आरोप बालेनमाथि छ ।
सरकारका प्रमुख निर्णयहरूमा बालेन हाबी हुँदै जाँदा लामिछानेसँगको दूरी बढ्ने जोखिम रहेको भन्दै रास्वपाका नेताहरू चिन्तित छन्। उनीहरूका अनुसार पार्टीभित्रको सन्तुलन कायम राख्न दुवै नेताबीच समन्वय बढाउन आवश्यक छ।
सरकार गठनअघि नै बालेन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो। सोही आधारमा सभापति लामिछानेले शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए, जसले चुनावमा रास्वपालाई अनपेक्षित सफलता पनि दिलायो। पूर्वसहमति अनुसार चैत १३ गते बालेन्द्रको नेतृत्वमा सरकार गठन भयो।
तर, मन्त्री चयनको विषयमा भने विवाद देखियो। लामिछानेले मन्त्री छनोट आफूले गर्ने योजना बनाएका थिए र सार्वजनिक रूपमा नै सांसदहरूले मन्त्री बन्नका लागि दौडधूप गर्न नपर्ने बताएका थिए। त्यसका बाबजुद केही मन्त्रीको नियुक्ति उनको इच्छाविपरीत भयो । लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउन लामिछानेले सक्दो प्रयास गरेका थिए। तर अर्यालको नाममा बालेनले सहमति नजनाएपछि सुदन गुरुङ गृहमन्त्री नियुक्त भए।
राजनीतिक नियुक्तिहरू खारेज गर्ने विषयमा पनि लामिछाने सक्रिय थिए। उनले बारम्बार राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। पार्टीले विभिन्न निकायमा भएका करिब १ हजार १७० राजनीतिक नियुक्तिहरूको विवरण संकलन गरी खारेज गर्ने तयारी अघि बढाएको थियो। यस क्रममा नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर ल्याउने चाहना लामिछानेको थियो, तर प्रधानमन्त्री शाहले त्यसलाई अस्वीकार गरे। बरु, विद्यमान गभर्नरलाई निरन्तरता दिने निर्णय लिइयो।
सांसदहरूलाई मन्त्रालयमा सहजीकरणका लागि खटाउने विषयमा पनि दुवै नेताबीच मतभेद देखियो। प्रधानमन्त्रीले केही सांसदलाई मन्त्रालयमा खटाए पनि पार्टीले औपचारिक रूपमा यस्तो निर्णय नगरेको बताइएको छ।
उपसभामुख चयनको प्रसंगले पनि दुवैबीचको असमझदारी उजागर गर्यो। लामिछानेले राप्रपाका उम्मेदवारलाई उपसभामुख बनाउन चाहेका थिए। तर त्यसमा पनि बालेन सहमत नभएपछी श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर उपसभामुख निर्वाचित भइन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमजस्तो महत्वपूर्ण कार्यक्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहनु पनि पार्टीभित्र असन्तोषको कारण जस्तो देखिएको छ ।
