ब्रम्हाण्डको भुत्याहा कण : के हो न्यूट्रिनो ?
काठमाडौं। ब्रह्माण्ड निरन्तर गतिशील छ,तपाईं यो क्षण स्थिर भएर बसे पनि तपाईंको शरीरभित्रबाट अर्बौं अदृश्य कणहरू निरन्तर पार भइरहेका छन्। ती कणहरू यति अत्यन्त सूक्ष्म र कमजोर अन्तरक्रियाशील हुन्छन् तिनीहरूले पदार्थसँग कुनै प्रतिक्रिया गर्दैनन्। र प्रकाशको गतिमा सम्पूर्ण पृथ्वीलाई समेत सहजै छेडेर अघि बढ्छन्,मानौँ पृथ्वी नै अस्तित्वमा छैन।। न तिनीहरूको आगमन महसुस हुन्छ, न कुनै प्रत्यक्ष संकेत देखिन्छ। त्यसैले यिनीहरूलाई घोस्ट पार्टिकल,भुत्याहा कण अर्थात् न्यूट्रिनो भनिन्छ।
न्यूट्रिनोको जन्म मुख्यतया न्युक्लियर रियाक्सनबाट हुन्छ। पृथ्वीमा न्यूट्रिनोको प्रमुख स्रोत सूर्य हो, जसको गर्भमा हुने न्युक्लियर फ्युजनबाट अत्यधिक मात्रामा न्यूट्रिनोहरू उत्पन्न हुन्छन्।
त्यसैगरी, कुनै तारा आफ्नो जीवनको अन्तिम चरणमा सुपरनोभाको रूपमा विस्फोट हुन्छ, त्यतिबेला विशाल मात्रामा न्यूट्रिनोहरू उत्सर्जित हुन्छन्। विशेष कुरा के हो भने यस्ता न्यूट्रिनोहरू प्रकाशभन्दा पहिले नै बाहिर निस्कन्छन्। यही कारणले खगोलशास्त्रीहरूलाई सुपरनोभाको अवलोकनका लागि आफ्नो टेलिस्कोप कुन दिशातिर तेर्स्याउने भन्ने कुरा पहिले नै अनुमान गर्न सहयोग हुन्छ।
न्यूट्रिनोहरू तीन प्रकारका ‘फ्लेभर’ मा पाइन्छन्। इलेक्ट्रोन, ‘म्युओन र टाउ’ कणसँग सम्बन्धित रूपमा इलेक्ट्रोन न्यूट्रिनो, म्युओन न्यूट्रिनो र टाउ न्यूट्रिनो हुन्छन्। यी कणहरू आपसमा रूप परिवर्तन गर्न सक्ने स्वभावका हुन्छन्। त्यसैले सूर्यबाट निस्किएको इलेक्ट्रोन न्यूट्रिनो पृथ्वीमा आइपुग्दा म्युओन वा टाउ न्यूट्रिनोमा परिवर्तन हुन सक्छ।
न्यूट्रिनोहरू इलेक्ट्रिक चार्ज विहीन हुन्छन्, अर्थात् न धनात्मक न ऋणात्मक। यिनीहरू ब्रह्माण्डका आधारभूत बलहरूमध्ये कमजोर बल र गुरुत्वाकर्षणसँग मात्र अत्यन्त कमजोर रूपमा अन्तरक्रिया गर्छन्। तर यिनीहरूको पिण्ड अत्यन्तै न्यून भएकाले गुरुत्वाकर्षणको प्रभाव पनि नगण्य हुन्छ। यही कारणले प्रयोगशालामा न्यूट्रिनो पत्ता लगाउन अत्यन्त कठिन हुन्छ।
वैज्ञानिकहरूले न्यूट्रिनो अध्ययनका लागि विशाल पानीका ट्याङ्की प्रयोग गर्छन्। यस्ता ट्याङ्कीमा रहेका अणुहरूसँग कहिलेकाहीँ न्यूट्रिनोको अत्यन्त दुर्लभ अन्तरक्रिया हुँदा सूक्ष्म संकेत उत्पन्न हुन्छ, जसको आधारमा न्यूट्रिनोको उपस्थिति पत्ता लगाइन्छ।
न्यूट्रिनोहरू पृथ्वीमा कम ऊर्जा भएका न्यूट्रिनोहरू हाम्रो वरपरका प्राकृतिक स्रोत, जस्तै केरा जस्ता वस्तुबाट पनि उत्पन्न हुन सक्छन्। तर अत्यन्त उच्च ऊर्जा भएका न्यूट्रिनोहरू भने ब्ल्याक होल जस्ता शक्तिशाली खगोलीय स्रोत भएका ग्यालेक्सीहरूबाट उत्पन्न हुन्छन्। यस्ता उच्च ऊर्जा भएका न्यूट्रिनो पत्ता लगाउन अर्जेन्टिनाजस्तो विशाल क्षेत्रमा सयौँ डिटेक्टरहरू स्थापना गरिएको छ। संसारभरका वैज्ञानिक र खगोलशास्त्रीहरू मिलेर यस विषयमा अनुसन्धान गरिरहेका छन्।
न्यूट्रिनोको अस्तित्वको आधार पनि भौतिकशास्त्रका सिद्धान्तहरूबाट नै पुष्टि भएको हो। सन् १९३० को दशकमा जब स्वतन्त्र न्युट्रोन प्रोटोन र इलेक्ट्रोनमा विभाजित हुन्छ भन्ने प्रक्रिया अध्ययन गरियो, त्यसमा ऊर्जा र गति सम्बन्धी सिद्धान्तहरू पूर्ण रूपमा मेल खाँदैनथे। त्यसपछि वैज्ञानिकहरूले एउटा अत्यन्त सूक्ष्म कणको अस्तित्व हुनुपर्ने अनुमान गरे। पछि दशकौँको अनुसन्धानपछि न्यूट्रिनोको अस्तित्व पुष्टि भयो, जसका लागि सन् १९९५ मा नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो।
यति सूक्ष्म र लगभग पदार्थसँग प्रतिक्रिया नै नगर्ने कणको ब्रह्माण्डमा के महत्व होला भन्ने प्रश्न उठ्न सक्छ। तर न्यूट्रिनो अत्यन्त महत्वपूर्ण कण हो। यसको भूमिका नहुने हो भने ग्रहहरूको निर्माण र जीवनको सम्भावना नै प्रभावित हुन सक्छ। सूर्यभित्र हुने न्युक्लियर फ्युजन प्रक्रियामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ।
त्यसैगरी, बिग ब्याङ्ग पछि उत्पन्न भएका प्रारम्भिक न्यूट्रिनोहरूको अध्ययनले ब्रह्माण्डको उत्पत्ति र विकासबारे महत्वपूर्ण जानकारी दिन सक्छ। तसर्थ: न्यूट्रिनो आधुनिक भौतिकशास्त्रको अत्यन्त महत्वपूर्ण अनुसन्धान क्षेत्र बनेको छ।
