संसदीय समितिको निर्वाचन आज
काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समिति तथा २ संयुक्त समितिले आज सभापति चयन गर्न लागेको छन्। यसका लागि सम्बन्धित सबै समितिहरूको बैठकमा सभापति निर्वाचन कार्यसूची समावेश गरिएको छ।
बिहीबार नै संघीय संसद सचिवालयमा सबै समितिका सभापतिहरूका लागि मनोनयन दर्ता सम्पन्न भएको थियो।
कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले मनोनयन दर्ता गराएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बराल दुवैले दाबी प्रस्तुत गरेका छन्।
त्यस्तै, सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारीको मनोनयन परेको छ।
संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
राज्यका निर्देशकीय सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपा माओवादी केन्द्रतर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुनेछ।
सचिवालयका अनुसार, आजको बैठकमा दर्ता भएका मनोनयन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने र त्यसपछि सभापति निर्वाचनको घोषणा गरिनेछ।
