`

संसद्का १२ समितिले सभापति पाउँदै,को को छन् उम्मेदवार ?

Nepal One HD ४ वैशाख २०८३ १०:३८
प्रमुख खबर

काठमाडौं । संघीय संसद्का १२ वटा समितिले शुक्रबार सभापति पाउने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र २ संयुक्त समितिका सभापतिको निर्वाचन आज हुने कार्यसूची रहेको छ।

सम्बन्धित समितिको बैठकमार्फत सभापतिको निर्वाचन गरिनेछ। यद्यपि, १० वटा समितिका सभापति भने हिजै निर्विरोध चयन भइसकेका छन्। बिहीबार संघीय संसद् सचिवालयमा मनोनयन दर्ता हुँदा एकल उम्मेदवारी परेका उनीहरू निर्विरोध भएका हुन्।

दुई समितिमा भने एकभन्दा बढी उम्मेदवार परेकाले आज मतदान हुनेछ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ को सभापतिका लागि रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतका अर्थ समितिको सभापतिमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध भएका छन्।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी पनि निर्विरोध चयन भएका छन्।

शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बस्नेछ, जसमा निर्विरोध भएका सभापतिको औपचारिक घोषणा गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *