ओर्जिनल कांग्रेस विवाद : सर्वोच्चमा आज पनि सुनुवाइ
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ। निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। देउवा पक्ष तथा निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलको बहस सकिएको छ भने आज विपक्षी बनाइएका कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तर्फबाट प्रतिरक्षा बहस हुने जनाइएको छ।
यसअघि सर्वोच्च अदालतले उक्त विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिई निर्वाचन आयोगलगायत पक्षसँग लिखित जवाफ माग गरेको थियो।
निर्वाचन आयोग, नेपाली कांग्रेसको पार्टी कार्यालय र गगन थापा पक्षबाट लिखित जवाफ पेस भइसकेपछि मुद्दा सुनुवाइका लागि अगाडि बढाइएको हो।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद उत्पन्न भएको हो।
उक्त विषयमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए। रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न तथा नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भंग गर्न माग गरिएको छ।
देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै त्यसलाई अस्वीकार गर्दै आएको छ।
