पार्टीलाई एकताबद्व बनाउने वातावरण बन्यो : गगन थापा
काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सुदृढ गर्ने अनुकूल वातावरण बनेको बताएका छन्।
शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक कांग्रेसको मान्यता दिने फैसला गरेपछि प्रतिक्रिया दिँदै सभापति थापाले अब पार्टीलाई एकताबद्ध बनाउने अवसर आएको बताएका हुन्।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा विदेशमा जहाँ रहे पनि आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक पार्टी एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन्।
‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ थापाले बताएका छन्।
थापाले कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसलाई पार्टी रुपान्तरणको अवसरका रुपमा लिनुपर्नेमा जोड दिए।
थापा थप्छन्, ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।’
उनले अग्रज नेताहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने बलियो पार्टी निर्माणका लागि सबै नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।
