`

५० शिशु र ६ वयस्कको शव अलपत्र फेला

Nepal One HD ६ वैशाख २०८३ १०:५५
अपराध

एजेन्सी। क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोको राजधानी पोर्ट अफ स्पेनबाट करिब ४० किलोमिटर पूर्वमा रहेको कुमुटो क्षेत्रको एक चिहानमा सामूहिक रूपमा शव फेला परेको छ। शनिबार कम्तीमा ५० शिशु र ६ वयस्कका शव फालिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार वयस्कमध्ये पाँच शवमा पहिचानका लागि प्रयोग हुने ट्याग लगाइएको पाइएको छ भने दुई शवमा पोस्टमार्टम गरिएको चिन्ह समेत देखिएको छ।

ट्रिनिडाड एन्ड टोबागो प्रहरी सेवाले यो घटना दाबी नगरिएका शवको गैरकानुनी विसर्जन हुन सक्ने आशंका गरेको छ। शव कहाँबाट ल्याइएको र कुन प्रक्रियामा त्रुटि भएको हो भन्नेबारे फरेन्सिक अनुसन्धान जारी रहेको जनाइएको छ।

सुरक्षा अधिकारी एलिस्टर गुभाराले घटनालाई अत्यन्तै गम्भीर र चिन्ताजनक भन्दै प्रत्येक शवको सम्मानजनक व्यवस्थापन हुनुपर्ने र दोषीलाई कडा कारबाही गरिने बताएका छन्।

गम्भीर अपराध र हिंसाको चुनौती सामना गरिरहेको अवस्थामा यो घटना सार्वजनिक भएको हो। उक्त देशमा २०२४ डिसेम्बरदेखि संकटकाल लागू छ भने सन् २०२४ मा मात्र ६२३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरिएको छ। साथै सन् २०२३ मा उक्त देशलाई विश्वका उच्च जोखिमयुक्त राष्ट्रहरूमध्ये एकका रूपमा वर्गीकृत गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *