रबि गुहार्दै बुढानिलकण्ठ पुगे गृहमन्त्री गुरुङ
काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा आफ्नो नाममा शेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन्।
भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको प्रत्यक्ष साझेदारी रहेको कागजात सार्वजनिक भएसँगै रवि भेट्न पुगेका हुन्।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा मन्त्री स्वयंको संलग्नता देखिएपछि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै रास्वपाभित्रै राजीनामाको माग उठ्न थालेको छ।
यही दबाबबीच आइतबार राति गुरुङ बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। सुरक्षास्रोतका अनुसार उनी बेलुकी ८ बजेपछि पुगेका थिए भने राति करिब १० बजे फर्किएका थिए।
भेटका क्रममा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउने प्रयास गरेको स्रोतले जनाएको छ। यद्यपि सभापति लामिछानेले पार्टीको बैठक जारी रहेको उल्लेख गर्दै आफ्नो धारणा बैठकमै राख्न आग्रह गरेका छन्।
घटनापछि गृहमन्त्री गुरुङमाथि थप राजनीतिक दबाब बढ्ने संकेत देखिएको छ।
