`

भूपदेव शाह बने रास्वपाको महामन्त्री

Nepal One HD ७ वैशाख २०८३ १७:४५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले का अनुसार बैठकले शाहलाई औपचारिक रूपमा महामन्त्री बनाउने निर्णय गरेको हो।

भूपदेव शाह प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा महामन्त्री पदमा नियुक्त भएका हुन्। पार्टीभित्र बालेन शाहको ‘कोटा’बाट उनलाई जिम्मेवारी दिइएको बताइएको छ। यस निर्णयसँगै रास्वपाभित्र शक्ति सन्तुलन र नेतृत्व संरचनामा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।

भूपदेव शाह यसअघि पनि बालेन्द्र शाहसँग नजिक भएर काम गर्दै आएका थिए। बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा शाह उनका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए।

गएको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम-२ बाट उम्मेदवार बनेका थिए।  त्यहाँ उनी एमाले उम्मेदवार यज्ञ बोगटीसँग पराजित बने। 

प्रशासनिक समन्वय, नीतिगत सहयोग र कार्यान्वयन तहमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। सोही अनुभव र विश्वासका आधारमा उनलाई पार्टीको महत्वपूर्ण पदमा ल्याइएको नेताहरूको भनाइ छ।

राजनीतिक विश्लेषकहरूका अनुसार भूपदेव शाहको नियुक्तिले रास्वपाले आफ्नो संगठनात्मक संरचना बलियो बनाउन खोजेको संकेत गर्छ। पछिल्लो समय पार्टीभित्र देखिएको जिम्मेवारी बाँडफाँट र नेतृत्व व्यवस्थापनलाई सन्तुलित बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको हुन सक्ने आकलन गरिएको छ।

यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठकले अन्य पदहरूमा पनि आवश्यक हेरफेर गर्न सक्ने संकेत दिएको छ। ‘एक पद, एक व्यक्ति’ नीतिअनुसार आगामी दिनमा थप जिम्मेवारीहरू पुनर्संरचना गरिने चर्चा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *