इरानमा भीषण बमबारी गर्ने ट्रम्पकाे चेतावनी,युद्धकाे चक्र फेरि मडारियाे (भिडियो)
काठमाडौं। व्यापाक बमबारी चेतावनी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारसम्म सम्झौता गर्न इरानलाई दबाब दिएको छ । इरानको ४५० किलो युरेनियममा ट्रम्पले चासो राखेका छन् । त्यो नपाए इरानले बमबारीको सामपना गर्नुपर्ने भन्दै चेतावनी दिएको हो । यसअघि युद्धविराम मंगलबार समाप्त हुने भनिएको थियो ।
तर, ट्रम्पले यसलाई अगाडि बढाउने सम्भावना निकै कम रहेको बताएका छन् । यो युद्धविराम दुई हप्ताको थियो, जुन बुधबार अप्रिल २२ मा अन्त्य हुँदै छ । यदि दुवै पक्षबीच कुनै सम्झौता भएन भने लडाइँ तुरुन्तै पुनः सुरु हुन सक्ने उनले बताए ।
ट्रम्पले इरानलाई छिटो सम्झौता गर्न दबाब दिइरहेका छन् । तर, उनले समय आफ्नो पक्षमै रहेको र कुनै पनि गलत सम्झौता नगर्ने बताएका छन् । ब्लूमबर्गलाई फोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले आफू कुनै पनि खराब सम्झौतामा हतार नगर्ने बताएका हुन् ।
ट्रम्पले पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ताबाट आफूले के अपेक्षा राखेका छन् भन्नेबारे पनि बताएका छन् । यद्यपि, इरानले यी वार्ताहरूलाई अस्वीकार गरिसकेको छ । उनले ग्यासको मूल्यका विषयमा पनि कुरा गरेका छन् ।
साथै, ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानका नयाँ नेताहरूलाई व्यक्तिगत रूपमा भेट्न तयार रहेको बताएका छन् ।
