२७ दिनमा गृहमन्त्रीबाट सुधनको राजीनामा : यस्ता छन् कारण
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा दिएका हुन् ।
यस्ता छन् राजीनामाका कारण:
विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भयो । कतिसम्म भने उनलाई बालेन र रास्वपाले नै जोगाउन सकेन। उनको सेयर साझेदारी रहेको लघु विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरको रुपमा देखिएका थिए ।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिइएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चितता तर्फा धकेलियो।
त्यस्तै, सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश थिएन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएको पाइएपछि गुरुङले वकालत गरिरहेको पारदर्शिताको सवाल झन् पेचिलो बन्यो ।
गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्यले पनि सम्पत्ति विवरणसँग मेल खान सकेन । साथै, दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टीकरणमा उल्लेख नभएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा उनको राजीनामाको माग बढ्दै गयो ।
विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समुहसँग शेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका थिए । जुन प्रकरणले उनले आफ्नो मन्त्री पद जोगाउन सकेनन्।
त्यसअघि गुरुङलाई फेवातालको जग्गा प्रकरणले पनि विवादित बनाएको थियो । फेवाताल वरपरका अवैधानिक संरचना भत्काउने क्रममा तालको मुलघरमा नै गृहमन्त्रीको जग्गा रहेको विषयले पनि उनी विवादित बने। उनले त्यसलाई भाडाको जग्गा भएको करार गरेपनि त्यसबाट उनी चोखो भने रहन सकेनन् ।
त्यसको केही दिनपछि गृहमन्त्री गुरुङको सम्पत्ति विवरणमा हदबन्दी भन्दा बढी जग्गा देखियो । उनले त्यसलाई पैतृक सम्पत्तिको हवाला दिए।
एकजना व्यक्तिले अधिकतम् ७० रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था छ। तर उनको सम्पत्ति विवरणमा २४१ रोपनी जग्गा उल्लेख छ । जुन भागबण्डा गर्दा पनि ३ जनाभन्दा बढी व्यक्तिको नाममा ७० रोपनी जग्गा हुन आउछ।
यो प्रकरणले पनि उनमाथि नैतिक दबाब बढ्दै गएको थियो।
गृहमन्त्री गुरुङले सरकार गठन भएकै राति भदौ २३ को जेनजी विद्रोहमा १९ जनाको ज्यान जाने गरी भएको नरसंहारका मतियार भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे । उनको यो निर्णय पनि उनकै लागि आत्मघाती जस्तो देखिएको छ। सार्वजनिक वृत्तमै ओली र लेखकलाई हतारोमा पक्राउ गर्ने गुरुङको निर्णय आलोकाँचो भन्दै प्रश्न उठेका थिए।
गुरुङले अन्य थुप्रै नेता तथा व्यावसायीलाई पनि हिरासतमा पुर्याए। तर उनको पहलमा पक्राउ परेका सबै व्यक्ति अनुसन्धानको आधार नपुग्दा रिहा हुँदै गए। जसले गृहमन्त्री गुरुङलाई झनै राजीनामाको डिलसम्म पुर्याएको देखिन्छ।
