`

खुफिया अड्डामा छापा, ६ जना पक्राउ

Nepal One HD १० वैशाख २०८३ १२:०५
अपराध

विराटनगर। विराटनगर महानगरपालिका-९ सोमबारेस्थित एक खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनले उक्त खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाइएको पाइएको बताए।

‘एसी जडान गरेर आरामदायी वातावरण तयार पारिएको रहेछ,’ उनले भने, ‘त्यहाँ दैनिकजस्तै तास खेल्ने गरिएको पाइयो।’

प्रहरीले उक्त स्थानबाट तीन बुक तास, नगद ४४ हजार १६५ रुपैयाँ तथा भारतीय २ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *