गृहमन्त्रीमा गुरुङको पुनरागमनको सम्भावना कति?
काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।
गुरुङको राजीनामापछि उक्त रिक्त पदमा को आउँछ भन्ने विषयमा अहिले राजनीतिक वृत्तमा व्यापक चर्चा र चासो दुवै सुरु भएको छ ।
एकातिर गुरुङको पुनरागमन हुनेमा आशावादी पक्षले उनी क्लिन चिट लिएर पुनः फर्किनेमा ढुक्क रहेको दाबी गरिरहेका छन्। अर्कोतिर, अरू नै गृहमन्त्री पदमा नियुक्त हुने तर्क पनि भइरहेको छ ।
सामाजिक सञ्जालमा विभिन्न सम्भावित नामहरूबारे अड्कलबाजी भइरहेका छन् । यद्यपि, प्रधानमन्त्री शाहले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने तयारी रहेको स्रोतहरूको दाबी छ ।
गुरुङ निकट स्रोतहरूले भने उनी चाँडै पुनः गृह मन्त्रालयमा फर्किन सक्ने दाबी गरेका छन् । उनीहरूको भनाइअनुसार छानबिन समितिले केही दिनमै निष्कर्ष निकाल्नेछ ।
विवादित व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलासापछि गृहमन्त्री गुरुङ दबाबमा परेका थिए । सोही पृष्ठभूमिमा उनले हिजो राजीनामा दिएका थिए ।
आरोपको छानबिन गर्न गुरुङले समिति गठनको माग गरेका थिए। तर प्रधानमन्त्री शाहले समितिभन्दा अगावै राजीनामा मागे। समिति गठन भएर उनले सफाइ पाएको भए गृहमन्त्रीमा उनको पुनरागमन हुनसक्थ्यो । सामाजिक सञ्जालको चौतर्फी दबाब, प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेको दबाबसँग उनको कुनै सिप चल्न सकेन ।
राजीनामा घोषणा गर्दै उनले आफूमाथि निष्पक्ष छानबिन गर्न चुनौतीसमेत दिएका छन् ।
गुरुङले प्रधानमन्त्री कार्यालयबाटै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनी गृह मन्त्रालय पुगेका थिए र करिब तीन घण्टा प्रधानमन्त्रीसँग बिताएका थिए ।
मन्त्रालयमा उनलाई औपचारिक बिदाइ गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि बिदाइका लागि मन्त्रालय पुगेका थिए । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मायाको चिनो प्रदान गर्दै बिदाइ गर्दा गुरुङ भावुक पनि बने।
उनले हिजै सरकारी निवास छोडेर सितापाइलास्थित आफ्नो अपार्टमेन्टमा सरेको जनाइएको छ ।
