नेप्सेमा गयो पहिरो
काठमाडौं। बिहीबार सेयर बजारमा गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक १७.०१ अंकले घटेको छ ।
अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको हो । पछिल्ला चार कारोबार दिनदेखि बजार लगातार ओरालो लागिरहेको छ ।
यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको कारोबार भएको छ ।
बजारमा ४६ कम्पनीको मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् । तर अन्य अधिकांश समूह भने घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।
बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।
यस दिन पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९.२४ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ५ प्रतिशतले बढेका छन् ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशतले घटेको छ । सुपर खुदी हाइड्रोपावर ७.१७ प्रतिशत, गणपति लघुवित्त ६.३८ प्रतिशत र रिजलाइन इनर्जी ५.३३ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर रहेका छन् ।
