`

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

Nepal One HD १० वैशाख २०८३ १९:५९
अर्थ समाचार

गोरखा। गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गत वर्ष रु ३० लाख ४५ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

“सङ्ग्रहालयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतका बारेमा अध्ययन गर्न आउने गरेका छन्,” प्रमुख कार्कीले भन्नुभयो । गत वर्ष सङ्ग्रहालय अवलोकन गर्न ४४ हजार ७० विद्यार्थी यहाँ आएका थिए । सङ्ग्रहालय घुम्न आउने आमनागरिकको सङ्ख्या भने ८७ हजार २१९ रहेको थियो ।

प्रमुख कार्कीका अनुसार यहाँ घुम्न आउनेमा सार्क राष्ट्रका १६० र अन्य विदेशी मुलुकका दुई हजार ५४२ जना रहेका छन् । बर्सेनि यहाँ विद्यार्थीसँगै पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

सङ्ग्रहालय अवलोकनवापत विद्यार्थीले रु १०, अन्य नेपाली नागरिकले रु २५, सार्क राष्ट्रका नागरिकले रु ५० र अन्य देशका नागरिकले रु १०० शुल्क तिर्नुपर्छ । सङ्ग्रहालय साताको सबै दिन खुल्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *