ट्रम्पले भने भारतलाई ‘नरक’, मोदी किन चुपचाप ?
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत भारतलाई ‘नरक जस्तो ठाउँ’ भनेर उल्लेख गरेपछि कूटनीतिक विवाद उत्पन्न भएको छ।
उक्त टिप्पणी अमेरिकी रेडियो होस्ट माइकल स्याभेजको एक कार्यक्रमसँग सम्बन्धित हो। जसमा उनले अवैध आप्रवासनबारे टिप्पणी गर्दै भारत र चीनलाई ‘नरक’सँग तुलना गरेका थिए। ट्रम्पले कुनै प्रत्यक्ष टिप्पणी नगरी उक्त पोस्ट साझा गरेका थिए।
स्याभेजको भनाइमा अमेरिकामा जन्मिएका बच्चाले स्वतः नागरिकता पाउने व्यवस्था र त्यसपछि सम्पूर्ण परिवार आप्रवासनका रूपमा आउने विषय उठाइएको थियो। ट्रम्प भने अमेरिकी जन्मसिद्ध नागरिकता नीतिमा कडाइ गर्न चाहन्छन्, जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ।
ट्रम्पको पोस्टपछि भारतमा राजनीतिक बहस चर्किएको छ। विपक्षी दलहरूले सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।
भारतको विदेश मन्त्रालयले प्रारम्भमा संयमित प्रतिक्रिया दिँदै विषय अध्ययन भइरहेको जनाएको थियो। पछि प्रवक्ता रणधीर जैसवालले ती टिप्पणीलाई ‘अज्ञानतापूर्ण, अनुचित र निम्नस्तरका’ भन्दै भारत-अमेरिका सम्बन्धको वास्तविक चित्र नदेखाउने स्पष्ट पारे।
उनले दुई देशबीचको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको पनि दोहोर्याए।
यसैबीच, अमेरिकी दूतावासले ट्रम्पको नाम उद्धृत गर्दै भारतलाई ‘महान देश’ भनेको र त्यहाँ नेतृत्वसँग राम्रो सम्बन्ध रहेको उल्लेख गरेको छ।
विश्लेषकहरूका अनुसार भारतले यस विषयमा आक्रामक प्रतिक्रिया नदिई कूटनीतिक सन्तुलन कायम राखेको छ। उनीहरूले यसलाई अमेरिका–भारतबीच चलिरहेको व्यापार सम्झौता वार्तासँग पनि जोडेर हेरेका छन्।
