बालेन शासनमा ‘डोजर, लठ्ठी र बन्दुकको शासन सुरु भयो’ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालेन सरकारको नीतिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि साम्पाङको यस्तो अभिव्यक्ति आएको हो ।
उनले ‘अबको पाँच वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले देख्ने भनेको ‘डोजर, पुलिस, लठ्ठी, बुट, बन्दुक र जेलखाना’ मात्रै हुने” दाबी गरेका छन्।
शनिबारदेखि काठमाडौंको खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलेपछि साम्पाङ बालेन सरकारप्रति क्रुद्ध छन् ।
साम्पाङले राज्य संयन्त्रको प्रयोग गरिब र विपन्न वर्गविरुद्ध केन्द्रित हुने भन्दै आगामी दिनमा दमनमुखी नीति बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
‘मैले चुनाव ताका निक्कै भनेको थिएँ, तर बुझेनन्, अब चेत्नेछन्,’ भन्ने उनको भनाइले जनमतप्रति निराशा र असन्तुष्टि दुवै झल्काउँछ।
प्रधानमन्त्री बालेनको निर्देशनपछि हटाउन थालिएको सुकुम्बासी बस्ती आज पनि हटाइने छ ।
मनोहरा खोला क्षेत्रको बुद्धचोक, गोठाटारलगायत क्षेत्रको बस्ती हटाइने भएको हो । त्यसका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी तैथान गरिएको छ ।
