`

एलएचएस १९०३ वरिपरि पत्ता लाग्यो ४ ग्रह,नासाका वैज्ञानिक हैरान

Nepal One HD १३ वैशाख २०८३ ११:३०
बिशेष

एजेन्सी। वैज्ञानिकहरूले पृथ्वीबाट टाढा रहेको सानो र चिसो रातो बौना तारा एलएचएस १९०३ वरिपरि चार वटा ग्रहहरू रहेको नयाँ तारा प्रणाली पत्ता लगाएका छन्।

यो खोजले ग्रह निर्माणसम्बन्धी परम्परागत मान्यतालाई चुनौती दिएको बताइएको छ।

सामान्य खगोलशास्त्रीय मान्यताअनुसार ताराको नजिक ढुंगायुक्त ग्रहहरू हुन्छन् भने टाढा गएपछि ग्यासले बनेका विशाल ग्रहहरू पाइन्छन्। तर एलएचएस १९०३ प्रणालीमा भने यो क्रम उल्टिएको जस्तो देखिएको छ।

प्रारम्भमा अन्तरिक्ष तथा पृथ्वीमा आधारित टेलिस्कोपहरूको सहयोगमा तीन वटा ग्रह पहिचान गरिएको थियो। तीमध्ये एक ढुंगायुक्त र दुई वटा ग्यासयुक्त ग्रह रहेको अनुमान गरिएको थियो।

तर युरोपेली अन्तरिक्ष एजेन्सीको चिओप्स टेलिस्कोपको थप अध्ययनपछि चौथो ग्रहबारे नयाँ तथ्य सार्वजनिक भएको छ।

यो बाहिरी ग्रह सानो र घना देखिएकाले ढुंगायुक्त हुन सक्ने संकेत गरिएको छ। यससँगै सम्पूर्ण प्रणालीको संरचना ढुंगायुक्त, ग्यासयुक्त, ग्यासयुक्त र फेरि ढुंगायुक्त हुने देखिएको छ।

युनिभर्सिटी अफ वारविकका प्रोफेसर थोमस विल्सनका अनुसार यस्तो संरचना अत्यन्तै दुर्लभ मानिन्छ र यसलाई ‘भित्रबाट बाहिरतर्फ ग्रह निर्माण हुने प्रक्रिया’ को सम्भावित प्रमाणका रूपमा व्याख्या गर्न सकिन्छ।

वैज्ञानिकहरूका अनुसार ग्रह निर्माणको क्रममा बाहिरी भागमा आवश्यक पदार्थ सकिएपछि अन्त्यमा पनि सानो ढुंगायुक्त ग्रह बन्न सक्ने सम्भावना रहन्छ।

यस खोजले ब्रह्माण्डमा ग्रह प्रणालीहरूको निर्माण र विकाससम्बन्धी पुराना सिद्धान्तहरू पुनः मूल्यांकन गर्नुपर्ने संकेत दिएको वैज्ञानिकहरूको निष्कर्ष छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *